काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
ग्लोबल आईएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बागमती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पाँच सय ५८ रक्तदाताहरूले रक्तदान गरेका छन् । साथै, उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण हुनेछ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरू निरन्तर रूपमा गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका तीन सय वटा ५२ शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।