भरतपुर । नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पोप्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखाएका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको एक्स्पोमा अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ । आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिका अनुसार चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म एक्स्पो हुन लागेको हो । हाल सीमित स्टल मात्र उपलब्ध रहेको आयोजकले जनाएको छ । एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, किटनाशक, फुड प्रोसेसिब, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ । यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ ।
आयोजकका अनुसार एक्स्पो केवल प्रदर्शनी मात्र नभई कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म हो । विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यसले व्यावहारिक ज्ञान र नेटवर्किबको अवसर प्रदान गर्नेछ । आधुनिक कृषि औजारदेखि लिएर ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी र आत्मनिर्भर बनाउने दिशामा एक्स्पोले योगदान पुर्याउने आयोजकको विश्वास छ ।