काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपत् जोखिम न्यूनीकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल सुरु गरेको छ ।
भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायतका प्राकृतिक विपत्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाइमा तयार गरिएको विपत् जोखिम न्यूनीकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ । चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेसन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्युु एसोसिएसन नेपाल लगायत संस्थाहरूको सहकार्यमा उक्त सहयोगी पुस्तिका सार्वजनिक गरिएको हो । पुस्तिकाले विपत् आउनुअघि अपनाउनुपर्ने सावधानी, विपत्का बेला अपनाउनुपर्ने उपाय तथा विपत्पछिको पुनःस्थापना प्रक्रियामा सहयोग पुग्ने व्यावहारिक जानकारी समेटेको छ ।
विपत्का समयमा तत्काल सुरक्षित आश्रयको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै स्थानीय पार्टी प्यालेस तथा निजी संरचनासँग सहकार्य गरी अस्थायी आश्रयस्थल निर्माण गर्ने प्रस्तावसमेत अघि बढाइएको चेम्बरले जनाएको छ । यस पहलले विपत् प्रभावित नागरिकलाई समयमै सुरक्षित स्थान उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ । विपत् जोखिम न्यूनीकरण सहयोगी पुस्तिका अनावरण कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत चेम्बरले विपत् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर पहल गरिरहेको उनको भनाइ थियो ।
जलवायु परिवर्तनको प्रतिकूल असर सबैभन्दा बढी नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले विपत्बाट सबैभन्दा बढी प्रभावित समुदाय र जनतालाई केन्द्रमा राखेर योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । विपत्का समयमा फैलिने मिथ्या तथा भ्रमपूर्ण सूचनाले उद्धार र राहत कार्यमा गम्भीर असर पार्ने भएकाले यस्ता सूचनाबाट जोगिँदै समुदायलाई एकीकृत र सचेत बनाएर प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल चेम्बरले निजी क्षेत्रको भूमिका केवल आर्थिक गतिविधिमा सीमित नराखी समाज र नागरिकको सुरक्षासँग जोडेर अगाडि बढाउने उद्देश्यसहित यस्ता पहललाई निरन्तरता दिने जनाएको छ ।