काठमाडौं । सिन्धुलीमा एसबीआई बैंक चोरी भएको छ । घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ । प्रहरीले संलग्न एक जनालाई गाडीसहित पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मंगलबार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।
लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ । नकाबधारी लुटेराले सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिई पैसा लुटेको स्थानीयले बताएका छन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।