जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले आज बुधबार जनकपुरधाममा सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् ।
उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताउँदै भने, “निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गहरु गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला ।” उनले निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे ।
जेनजीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको बताउँदै गृहमन्त्रीले सुशासन कायम गर्नु तथा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको कार्यादेश भएको स्पष्ट गरे । समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै गृहमन्त्रीले प्रचलित कानुनविपरीत गर्नेलाई कारबाही हुने चेतावनी पनि दिए ।
उनले उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन र राष्ट्रले सुम्पेको अभिभारा पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए । शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले सीमित साधन तथा स्रोतका बाबजुद निर्वाचनलाई सफल बनाउनेतर्फ लागिपरेको बताउँदै उनले लुटिएका हतियार फिर्ता भइरहेको पनि बताए ।