प्रतिनिधिसभा निर्वाचनको मुखैमा नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। संस्थापन पक्षले विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै कांग्रेस दुई धारमा चिरिएको हो।
कारबाहीसम्बन्धी निर्णय निर्वाचन आयोगमा बुधबार नै दर्ता गराइसकिएको संस्थापन पक्षका नेताहरूले जनाएका छन्। यससँगै नेपाली कांग्रेसको आधिकारिकता कसको भन्ने विषयमा आयोगमा कानुनी तथा राजनीतिक टकराव सुरु हुने निश्चित भएको छ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा संस्थापन पक्षले अवरोध गरेपछि पार्टी विभाजनको बाटोमा पुगेको हो। पछिल्ला दिनहरूमा दुई पक्षबीच पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि औपचारिक विभाजन भएको हो।
निर्वाचन कार्यतालिकाअनुसार आगामी ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता सुरु हुँदैछ। त्यसको ठीक ६ दिनअघि कांग्रेस विभाजित भएकाले निर्वाचनमा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको वैधानिकतासम्बन्धी गम्भीर अन्योल सिर्जना भएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षले आजै गगनकुमार थापालाई सर्वसम्मत नयाँ सभापति चयन गर्ने तयारी गरेको छ। त्यससँगै उनीहरूको दाबी छ—नयाँ कांग्रेस नेतृत्व उनीहरूकै हातमा पुगेको छ।अब दुवै पक्षले आफू नै वैधानिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगमा अधिकारिकताको लडाइँ लड्नेछन्। यसको असर प्रतिनिधिसभा निर्वाचन मात्र होइन, समग्र नेपाली राजनीति नै अस्थिर बनाउने खालको देखिएको छ।