काठमाडौं । नेपाल टेलिकमले भीएएस (भ्यालु एडेड सर्भिस) कम्पनीहरूलाई जथाभावी म्यासेज नपठाउन निर्देशन दिएको छ । टेलिमकले स्वीकृत व्यवसायभन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह भइरहेकोले तत्काल बन्द गर्न र अबदेखि नपठाउन निर्देशन दिएको हो ।
टेकिलमका प्रवक्ता रविन्द्र मानन्धरले बुधबार एक विज्ञेप्ती जारी गरी अटेर गरे सम्झौता रद्ध गर्ने चेतावनीसमेत दिएका छन् । राजावादीको नाममा टेलिकमका ग्राहकहरूलाई अनाधिकृत म्यासेज गएपछि टेकिलमको विश्वसनियतामाथि प्रश्न चिह्न खडा भएको छ । भीएएस सेवा प्रदायक कम्पनीले एटी अलर्ट र एसआई अलर्टमार्फत राजावादी संस्थाको नाममा बालुटार घेराउ गर्न आउन टेलिकमका ग्राहकहरूलाई म्याजेस पठाएका थिए । संघियता खारेज गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको लागि पुस ३० गते बालुवाटारमा उपस्थित हुन निर्देश सेढाँईको नाममा एसएमएस पठाइएको थियो । अपरिचित व्यक्तिको नामबाट अनाधिकृत म्यासेज आएपछि ग्राहकहरूले टेलिकमको ग्राहक सुरक्षा गोपनियतामाथि प्रश्न उठाइरहेका छन् ।
यसका लागि टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको दाबी गरेको छ । ‘हाल केही सेवा प्रदायकमार्फत भीएएसको स्वीकृत व्यवसायभन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह भइरहेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरूबाट समेत गुनासो प्राप्त भएको छ’, टेलिकमले भनेको छ । यस अनुसार सम्बन्धित भीएएस सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको विज्ञेप्तीमा उल्लेख छ । ‘आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न तथा नियन्त्रण गर्न सबै भीएएस सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ । यस प्रकारका कार्य पुनः दोहो¥याएमा सम्झौताको प्रावधानबमोजिम दुई पक्ष बिचको सम्झौता नै रद्द गर्न सकिने छ’, कम्पनीद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
टेलिकमको भीएएस (भ्यालु एडेड सर्भिस) सेवा प्रदायकहरूमार्फत एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देशहरू सेवाग्राहीहरूलाई पठाउने व्यवस्था रहेको छ । टेलिकमका अनुसार सम्बन्धित भीएएस सेवा प्रदायकहरूले सेवाग्राहीहरूको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । नेपाल टेलिकम सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य विवरणहरूको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता टेलिकमले जनाएको छ ।