काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनी महानुभावहरूको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले चार अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई चार खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम तीन खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै एक खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पँुजी रहेको यस बैंकको कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले हाल दुई सय ७१ वटा शाखा, दुई सय ५९ वटा एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।