काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा बुधबार सम्पन्न भएको साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका कार्यक्रम तथा गतिविधिहरू बारे प्रकाश पारे ।
अध्यक्ष मर्हजनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूबारे जानकारी दिए । सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरूको जवाफ दिदैँ अध्यक्ष महर्जनले हाल वित्तीय क्षेत्रमा देखिएका चुनौतिहरूका कारण संस्था अपेक्षित रुपले व्यवसाय वृद्धि गर्न नसके पनि अनुपालना, व्यवसायिक गुणस्तर अभिवृद्धि, वित्तीय सुशासन, जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरूमा अपेक्षित प्रगति हासिल गरिरहेको जानकारी गराए । उनले सेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरू प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता सुझावहरू कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनुसूचीहरूसहितको वित्तीय विवरणहरू छलफलपश्चात् स्वीकृत गरेको छ । साथै २०८२/८३ का निम्ति बाह्य लेखापरीक्षकका रूपमा डीजी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । फाइनान्सले हाल २३ वटा शाखा कार्यालय तथा चार वटा एक्सटेन्सन काउन्टरहरू मार्फत नवीनतम प्रविधिहरू उपयोग गरी आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ ।