काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक वृद्धिदर तीन दशमलव शून्य दुई प्रतिशत रहने अनुमान गरिएको छ । कार्यालयले बुधबार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदन सार्वजनिक गर्दै तीन दशमलव शून्य दुई प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकको सुरुमा तीन दशमलव चार प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिए पनि सो अवधिमा वास्तविक आर्थिक वृद्धिदर दुई दशमलव नौ प्रतिशत कायम भएको थियो । मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२को प्रथम त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष २०८२/८३को सोही अवधिमा तीन दशमलव शून्य दुई प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
खाद्यान्न बाली, वन पैदावर, निर्जीवन बीमा, आन्तरिक उत्पादनका निर्माण सामग्रीलगायतका उत्पादनमा देखिएको संकुचनका कारण पहिलो त्रैमासिकको वृद्धिदर सामान्य अंकमा सीमित रहने प्रतिवेदनले जनाएको छ । पहिलो त्रैमासिकमा विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटन आगमनलगायतका विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव शून्य दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकोे छ ।
मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमासिकमा एक दशमलव ६८ प्रतिशतले संकुचन भएको प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमासिकमा गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १३ वटा क्षेत्रमा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन ऋणात्मक भएको अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३को प्रथम त्रैमासिक र अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणहरूको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको अनुमान छ । जसमध्ये विद्युत् तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर १४ दशमलव ९१ प्रतिशत रहेको छ भने यस क्षेत्रलाई पछ्याउँदै वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रमा क्रमशः सात दशमलव ०७ प्रतिशत र पाँच दशमलव ५२ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर एक दशमलव ३६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । धान बालीको उत्पादनमा भएको कमी देखिए पनि पशुपन्छी, तरकारीबाली तथा फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ । आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमासिकमा अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर तीन दशमलव ८९ प्रतिशत भएको अनुमान गरिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ । त्यसैगरी, गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम वृद्धिदर एक दशमलव ११ प्रतिशत पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलाप र यो क्षेत्रपछिको कम वृद्धिदर एक दशमलव १९ प्रतिशत मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको रहेको छ ।
मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासिक (वैशाख, जेठ र असार)को तुलनामा आर्थिक वर्ष २०८२/८३को पहिलो त्रैमासिक (साउन, भदौ र असोज)मा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये पाँचवटा क्षेत्रको वृद्धिदर धनात्मक देखिएको छ भने १३ वटा औद्योगिक वर्गीकरणको वृद्धिदर ऋणात्मक देखिएको छ (तालिका २) । यस अवधिमा विद्युत् तथा ग्यास सबैभन्दा बढी चार दशमलव ९५ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ ।
यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्र एक दशमलव ६५ प्रतिशत संकुचनमा गएको देखिन्छ । ऋणात्मक वृद्धिदर हुने १३ वटा औद्योगिक वर्गीकरणहरूमध्ये सबैभन्दा धेरै संकुचनमा खानी तथा उत्खनन् क्षेत्र १० दशमलव शून्य पाँच प्रतिशत र यस क्षेत्रलाई पछ्याउँदै सार्वजनिक प्रशासन, सुरक्षा तथा अनिवार्य सामाजिक सुरक्षासम्बन्धी क्रियाकलाप ऋणतामक पाँच दशमलव ९५ प्रतिशत रहेको छ । यसरी आर्थिक वर्ष २०८१÷८२को चौथो त्रैमासिकमा भन्दा आर्थिक वर्ष २०८२÷८३को पहिलो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धिदर ऋणात्मक एक दशमलव ६८ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको छ ।