काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएकी छिन् ।
माघी पर्वका अवसरमा थारू समुदायले टुडिँखेलमा बिहीबार आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै उनले आपसी सद्भाव, विश्वास तथा सहकार्यका माध्यमबाट राष्ट्रिय एकता कायम गर्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले विभिन्न समुदायले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताइन् । उनले भनिन्, ‘हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर सँगै छौँ । हामी धेरै भएर नै पूर्ण छौँ ।’ विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको तथा यही नै हाम्रो मौलिक पहिचान र शक्ति भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । वर्तमान विशिष्ट परिस्थितिमा सबैले अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् ।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएका थिए ।