नेपाल जीवनस्तर सर्वेक्षण २०२२/०२३ ले नेपालको साक्षरता बढेर ७७ दशमलव चार प्रतिशत पुगेको जनाएको छ । उक्त सर्वेक्षणअनुसार काठमाडौँ उपत्यकाको सहरी इलाकामा ८९ दशमलव छ प्रतिशत मानिस साक्षरता रहेका छन् । त्यसअघि राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालको साक्षरता दर ७६ प्रतिशत थियो भने त्यसको ठीक दश वर्ष अगाडि २०६८ सालमा ६५ दशमलव नौ प्रतिशत मात्र थियो । यी पछिल्ला तथ्यांकले नेपालमा शिक्षित जनसंख्याको वृद्धिदर तीब्र नै छ । शिक्षित जनसंख्या बढ्नु भनेको के गर्न हुन्छ/हुँदैन भन्ने ज्ञान प्राप्तमा सहयोग हुनु अर्थात् समाज सभ्यतातर्फ लम्किएको सूचक नै हो ।
पछिल्ला वर्षहरुमा यति प्रतिशत साक्षर भएको जिल्ला र गाउँहरु भनेर घोषणा गर्ने काम पनि भएका छन् । साक्षर मात्र होइन नेपालमा गुणस्तरीय र प्राविधिक शिक्षा लिनेको प्रतिशत पनि बढ्दै छ । तर, समाजमा शिक्षाको तुलनामा सुधारका काममा भने आसादित परिवर्तन आउन सकेको छैन । हाम्रो समाजमा देखिएका गतिविधि, नदीनाला, बाटाहरु, धारा, मठमन्दिर तथा विभिन्न धर्म तथा सम्प्रदायका आस्थाका केन्द्रहरुमा देखिएको बेथिति, सरकारी, सामुदायिक, सरकारी सम्पत्तिमाथि भएको हानीनोक्सानी तथा गल्तीको जिम्मेवारी नलिने प्रवृत्तिले हामीले शिक्षा पायौँ तर सभ्यता सिकेनौँ भन्ने देखिएको छ । समाजमा शिक्षित व्यक्तिहरूको संख्या बढिरहँदा घमण्डीपन, रिस–राग, फोहर गर्ने प्रवृत्ति, अनुशासनहीनता र अस्तव्यस्ततामा कमी आउनुपर्नेमा त्यसको विपरीत समाजमा बेथिति बढीरहेको छ ।
शिक्षित मानिसले सबैलाई मिलाउँदै जानुपर्ने हो तर आजको शिक्षाले व्यक्तिलाई झन् एक्लोपन बनाउँदै लगेको अनुभूति हुन्छ । ‘म नै सर्वोपरी हो र म मात्र अगाडि बढे पुग्छ’ भन्ने सोचको विकास हुँदै जाँदा आजको समाज, हाम्रो परिवार र राष्ट्रप्रतिको उत्तरदायित्व के हो भन्ने बिर्सिँदै गएको हो कि भन्ने आभास भएको छ । मानिसले शिक्षा प्राप्त गरेपछि सामाजिक भावनामा विकास हुनु पर्ने हो तर त्यसको सट्टा मानिसले आफ्नो व्यक्तिगत लाभमा केन्द्रित हुन थालेका छन् र यसको साथै पद, प्रतिष्ठा र सम्पत्तिलाई मान्यता दिन थालेका छन् । आजको समाजमा यसले सहकार्यमा कमजोरी भएको महसुस हुन्छ । वास्तवमा शिक्षाले ‘म’ भन्ने भावनाबाट ‘हामी’ भन्ने नारा दिनु पर्दछ र हाम्रो समाज र राष्ट्रलाई हामीले नै विकासको शिखरमा पुर्याउन सक्छौँ भन्ने व्यवहारतर्फ लैजाने हुनुपर्दछ, तर आजको शैक्षिक व्यवहारले त्यो लक्ष्य पूरा हुन नसकेको हो कि भन्ने कुरा छर्लङ्गै पर्दछ ।
झूट बोल्ने बानीमा कमी आउन सकेन
शिक्षाले सत्कार गर्ने, समझदार बनाउने र शिक्षित भनिने व्यक्तिहरूले समाज बनाउनुपर्ने हो तर शिक्षितबाटै समाजमा झूटको खेती, छलकपट गर्ने कार्य भएको छ । यसको साथै छलकपट र समाजमा दोहोरो चरित्र देखिनु राष्ट्रका लागि दुःखद् पक्ष हो । परीक्षामा चोरी गराउने, शिक्षालाई व्यापार बनाउने, राजनीति बढी गर्ने र सत्यतामा कमीलाई झूटको खेती गरी आफूमाथि पुग्ने, सत्यको सट्टा झूटलाई सजिलो उपाय ठान्ने प्रवृत्ति बढ्नु भनेको शिक्षाले झूटको व्यापार बढाएको देखिएको छ । शिक्षाले समाजमा रिस भएका व्यक्तिलाई विवेक र नैतिकता सिकाउनुपर्ने हो तर व्यवहारमा त्यसको उल्टो देखिन्छ । शिक्षाले समाज परिवर्तन हुनुपर्छ तर झूटले तत्काल फाइदा दिएजस्तो देखिए पनि यसले समाजमा अविश्वास, विखण्डन र नैतिक पतन निम्त्याउँछ । त्यसैले शिक्षाले सत्यता, साहस र मिलन दिन सकेन भने त्यसलाई शिक्षित भन्न सकिँदैन ।
जथाभावी फोहर गर्ने बानी हट्न सकेन
आफ्नो घर, समाज र पुरै राष्ट्र सफा भएमा मात्र आधुनिक समाज बन्न सक्छ । नेपालमा विद्यालय तहदेखि नै फोहर गर्नु र विद्यालय, विश्वविद्यालयसम्म शिक्षा लिएका शिक्षित मानिसहरूबाट नै सार्वजनिक स्थानमा फोहर फालिएको देख्नु भनेको शिक्षा राम्रो लिएको मानिँदैन तर यो सबै नेपालमा भने सामान्य भइसकेको छ । यहाँका सडक, प्रायः मन्दिर, बसपार्कको साथै पर्यटकीय स्थलहरूमा फोहर छरिनु हाम्रो आम मानिसको चेतनास्तरमै कमजोर हो भन्ने जनाउँछ । व्यवहारिक ज्ञान दिनु र कार्यान्वयन गरिनु पर्दछ तर किताबले सरसफाइको महत्व पढाए पनि व्यवहारमा लागू हुन सकेको भने देखिएको छैन । फोहर व्यवस्थापन केवल सरकारको मात्र जिम्मेवारी होइन, आम नागरिकको कर्तव्य हो भनी सबै मिलेमा मात्र सम्भव छ तर आम मानिसको चेत अझै विकास हुन सकेको देखिँदैन । आजको नयाँ शिक्षाले जिम्मेवार नागरिक बनाउनु पर्ने हो तर फोहर गर्ने बानीले हाम्रो शिक्षाको प्रभावकारिता देखिएको छैन । विद्यालय शिक्षादेखि नै फोहर गर्नु हुँदैन र यो फोहर गर्नु भनेको सामाजिक अपराध हो भन्ने भावनाको शिक्षा विद्यालय तहबाटै हुनुपर्दछ ।
सम्मान गर्ने र सामाजिक क्रियाकलापमा कमजोर
ठूलालाई आदर र सत्कार गर्ने तथा सानालाई माया गर्ने शिक्षा हुनु जरुरी छ । पहिले–पहिले हाम्रो समाजमा ठूला–बडाको असाध्यै सम्मान गर्ने चलन थियो । ठूलाको सल्लाह लिने र आशीर्वाद लिन लालायित हुन्थ्यौँ तर आज शिक्षित पुस्तामा दम्भ, अहंकार, ‘म नै हुँ’ भन्ने प्रचलन र सोच बढ्दै जाँदा पहिलेको जस्तो संस्कार कमजोर बन्दै गएको आभास भएको महसुस भएको छ । आजको शिक्षित मानिस सामाजिक काममा सहभागी हुनुको सट्टा व्यक्तिगत काममै सीमित रहने प्रवृत्ति बढेको छ तर शिक्षित मानिस आफ्नो डिग्री हासिल गरिसकेपछि समाजप्रति उत्तरदायी हुनु पर्नेमा शिक्षा केवल डिग्री हासिल गर्ने माध्यम बनेर झन् शिक्षित मानिसबाटै समाज बिग्रिएको जस्तो महसुस भएको छ र हाम्रो सामाजिक उत्तरदायित्व नै ओझेलमा परेको हो कि भन्ने आभास भएको छ । यदि शिक्षाले समाजको भावना बुझ्न सकेन र सबैलाई कोर्न सकेन भने त्यो शिक्षा व्यर्थ छ ।
आफूले सम्मान पाउन अरूलाई पनि राम्रो संस्कार दिनुपर्दछ । संस्कार शिक्षा को खम्बा हो । संस्कार विनाको शिक्षा र संस्कार विनाको मानिस केही काम लाग्ने हुँदैन । संस्कार नै मानिसको चरित्र निर्माण गर्ने आधार हो । तर आधुनिक शिक्षाले संस्कारभन्दा पनि कसरी बढी अंक प्राप्त गर्ने भन्ने सोचाइ छ तर प्रमाणपत्र र प्रतिस्पर्धालाई प्राथमिकता दिँदा हाम्रो नैतिक मूल्यहरू कमजोर भएका छन् । धेरै मानिसमा इमानदारीको कमी भएको छ, शिक्षित मानिसमा पनि नम्रता, धैर्य र सहिष्णुता जस्ता गुणहरू व्यवहारबाट हराउँदै गएका छन् । शिक्षाले चोरी गर्नुहुँदैन, छलकपट गर्नु हुँदैन भन्ने सिकाउनुपर्ने हो तर त्यस्तो देखिँदैन । घर, विद्यालय र समाजबीचको समन्वय अभावले पनि संस्कार विकासमा असर पारेको छ । शिक्षाले ज्ञानसँगै संस्कार सिकाउन नसकेसम्म समाज सभ्य र सुसंस्कृत बन्न सक्दैन ।
घरमा अनुशासन, विद्यालयमा अनुशासन, बाटोमा, खानपिनमा अनुशासन हुनुपर्दछ । अनुशासन विना कुनै पनि व्यक्ति, समाज र राष्ट्रको विकास सम्भव हुँदैन । तर आज शिक्षित भनिने वर्गमै अनुशासनहीनता देखिनु लज्जास्पद छ । शिक्षित मानिसमा पनि समयपालन, नियमको पालना र जिम्मेवारीबोध कमजोर हुँदै गएको देखिएको छ । विद्यार्थी जीवनमै अनुशासनलाई महत्वको रूपमा लिएर जानु पर्दछ । अनुशासनलाई वास्तविक विद्यालय जीवनमै अनुशासनको रूपमा महत्व बुझ्न सकेन भने आजै यसले समाज परिवर्तन गर्न सक्ने थियो । शिक्षाले आत्मअनुशासन विकास गराउनुपर्ने हो तर त्यसमा कमी देखिँदा समाज अस्तव्यस्त बन्दै गएको छ । जहाँततै अनुशासनको कमीले हामीलाई ढुङ्गे युगको मानिस जस्तो देखाएको छ ।
अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ
प्रतिस्पर्धा जहाँततै हुनुपर्दछ । व्यापारमा, काममा अनि पढाइमा साथै स्वस्थ प्रतिस्पर्धा विद्यालय कलेजमा पनि हुनुपर्दछ तर प्रतिस्पर्धा विकासका लागि आवश्यक भए पनि अस्वस्थ प्रतिस्पर्धाले समाजमा द्वेष र तनाव बढाउँछ । आज शिक्षामा जसले बढी अंक ल्यायो अनि जसको संस्थाबाट बढी अंक आयो त्यसकै चर्चा र इज्जतको रूपमा लिनु गलत परम्परा बसेको छ, र विद्यालय र कलेजले पनि ¥याङ्क र पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले समाजमा गलत अर्थ दिएको छ । अर्कोलाई जसरी पनि पछारेर अगाडि बढ्ने सोच हावी भएको छ । यसले सहयोग, सहकार्य र सामूहिक उन्नतिको भावना कमजोर बनाएको छ । शिक्षाले स्वस्थ प्रतिस्पर्धा र आत्मविकास सिकाउनुपर्ने हो तर अस्वस्थ प्रतिस्पर्धाले सामाजिक सम्बन्ध बिगारिरहेको छ । शिक्षालाई स्वस्थ प्रतिस्पर्धा र व्यवहारिक शिक्षा हुनु जरुरी छ ।
कानुन मिच्ने प्रवृत्तिमा वृद्धि !
कानुनको अज्ञानता क्षम्य हुँदैन । यो अशिक्षित समाज हो थाहा पाएन भन्न मिल्दैन । कानुन सबैलाई बराबर हुनुपर्दछ । कानुन सबैका लागि समान हो भन्ने चेतना शिक्षित वर्गमा देखिनुपर्नेमा साक्षरता दर बढ्दै जाँदा कानुन विपरीतका काम पनि बढ्दै गएको छ । यो शिक्षित समाजका लागि लज्जास्पद हो । जस्तै सानो उदाहरणमा ट्राफिक नियम उल्लंघन, सार्वजनिक नियमको अवहेलना र जसको शक्ति उसको भक्ति हुनु र शक्तिको दुरुपयोग गरी आफू हिरो हुनु सामान्यजस्तै बनेको पाइन्छ । तर शिक्षाले कानुनी चेतना, असल नागरिकता र नागरिक जिम्मेवारी सिकाउनुपर्ने हो तर व्यवहारमा त्यो कतै देखिँदैन । आँखा चिम्लेर शिक्षित वर्गले नै कानुन मिच्नु चतुरता होइन, महान कार्य होइन, यो सामाजिक अपराध हो भन्ने बुझाइ हुनु जरुरी छ । जब शिक्षित वर्गले नै कानुनको सम्मान गर्दैन तब समाजमा अराजकता फैलिनु स्वाभाविक हुन्छ । शिक्षाले अन्धकारबाट उज्यालो ल्याउनु पर्दछ र समाज परिवर्तन गर्नु पर्दछ ।
नैतिकता शिक्षा प्रणालीको मूल आधार हुनुपर्छ । तर आजको शिक्षाले व्यवहारिक सफलता मात्र देखाउँदा नैतिक आचरण ओझेलमा परेको छ । शिक्षाले देशको मुहार फेर्नु पर्दछ । भ्रष्टाचार रोक्ने, आफूलाई बेइमानी हुन नदिने र धेरै अवसरवादिता बढ्न नदिनु नै नैतिक शिक्षा हो । नैतिक शिक्षा विना प्राप्त ज्ञान खतरनाक पनि हुनसक्छ । शिक्षाले सही र गलत छुट्याउने विवेक दिन नसके समाज दीर्घकालीन रूपमा क्षतिग्रस्त हुन्छ । आउने पुस्ताले पनि गलत सिक्दै जाने हुन्छ ।
समाजमा हरेक पेशा, वर्ग, जात, लिङ्ग, धर्म र वर्गका मानिस बस्दछन् । सबैको स्तर फरक–फरक हुन्छ तर आज समाजमा असहिष्णुता, कटुता र धैर्यहीनता बढ्दै गएको छ । सानो कुरामा पनि विवाद गर्ने, कसैको मतलब नगर्ने, गालीगलौज जथाभावी गर्ने र वैमनस्य देखिनु सामान्य भएको छ । शिक्षाले फरक विचारलाई सम्मान गर्न सिकाउनुपर्ने हो तर सामाजिक समझदारी कमजोर बन्दै गएको छ । मधुर सम्बन्ध र आपसी सम्मान विना समाज शान्त र समृद्ध बन्न सक्दैन । त्यसैले शिक्षाले मानवीय संवेदना र सहिष्णुता विकास गर्न विशेष ध्यान दिनु आवश्यक छ । आजको शिक्षाले सामाजिक सहिष्णुता, व्यक्तिमा मधुरता र समाज परिवर्तनको आधार नै शिक्षा हुनु आजको आवश्यकता भएको छ ।
निष्कर्षमा भन्न सकिन्छ कि शिक्षित हुनु किताबी ज्ञान लिनु मात्र होइन । हो, समाज परिवर्तन शिक्षाले नै हुन्छ तर शिक्षित व्यक्तिले हरेक समस्याको समाधान गर्न सक्नु पर्दछ, अरूको सम्मान गर्ने, अरूको भावना बुझ्ने, हरेक समस्याको समाधान गर्न अग्रसर हुने र देश विकासको आधार बन्न सक्ने शिक्षा नै असली शिक्षा हो । अन्यथा शिक्षित समाजले विखण्डन ल्याउँछ र व्यवहारिक ज्ञान नै छैन भने त्यस्तो शिक्षा समाजको हितको लागि हुने छैन । त्यसैले शिक्षा ज्ञानको ज्योति, विकासको आधार, समाज बनाउने मेरुदण्ड र व्यवहारिक ज्ञान दिने महासागर हुनुपर्छ । शिक्षित हुनु किताबी ज्ञान मात्र नभई असल समाज बनाउने औजार हो । शिक्षाले सामूहिक भावनाको विकासमा प्रेरित गर्नुपर्छ । जबसम्म राज्यले ‘म’बाट माथि उठ्ने सोच भएको शिक्षाको विकासमा जोड दिँदैन तबसम्म शिक्षामा गरेको लगानीले प्रमाणपत्र बटुल्न सहयोग गर्छ तर समाज परिवर्तन गर्न सहयोग गर्ने छैन ।