बनियानी । नवलपरासी र झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा१६च ४७४० नम्बरको जिपको ठक्करबाट गएराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोले जिपका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।
यस्तै, गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ ।
बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन् । उनका अनुसार ट्रकका चालक फरार छन् भने निजको खोजीकार्य भइरहेको छ ।