सुडान । सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि खाद्यान्न भण्डारण समाप्त हुने संयुक्त राष्ट्र संघले बिहीबार जनाएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी संकटमा फसेका लाखौँ व्यक्तिको लागि चिन्ता बढाएको छ ।
सुडानमा जारी तीन वर्ष लामो गृहयुद्धपछि यो चेतावनी आएको हो । यहाँ सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाइँमा दसौँ हजार मारिएका छन् र एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन् । ‘मार्चको अन्त्यसम्ममा सुडानमा हाम्रो खाद्य भण्डार अत्यन्त कम भइसक्नेछ’, विश्व खाद्य कार्यक्रमका आपतकालीन तयारी तथा प्रतिकार्य निर्देशक रस स्मिथले एक विज्ञप्तिमा भनेका छन् ।
तत्काल थप कोषको अभावमा लाखौँ मानिस केही हप्ताभित्रै अत्यावश्यक खाद्य सहायताबाट वञ्चित हुनेछन् । स्मिथले भने, ‘डब्ल्यूएफपीले यसपहिले नै ‘बाँच्नको लागि पूर्ण आवश्यक राशनलाई न्यूनतमरूपमा वितरण गर्न बाध्य भएको छ ।’ संयुक्त राष्ट्र संघका अनुसार सुडानको करिब आधा जनसंख्या अर्थात् दुई करोड १० लाख मिलियनभन्दा बढी मानिसले अहिले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
संयुक्त राष्ट्र संघ समर्थित एक समीक्षाले गत वर्ष पुष्टि गरेअनुसार उत्तरी डार्फरको राजधानी एल–फासेरमा भोकमरीको अवस्था विकराल बनेको छ । यसलाई अक्टोबरमा अर्धसैनिक बलले कब्जा गरेको थियो । अहिले द्वन्द्वको प्रमुख रणभूमि मानिने छिमेकी कोर्दोफानको काडुग्लीमा पनि अनिकाल लागेको पुष्टि भएको छ ।
करिब एक सय ३० किलोमिटर उत्तरमा पर्ने डिलिङमा संयुक्त राष्ट्र संघले नागरिकहरूले भोकमरीको अवस्था भोगिरहेका हुनसक्ने बताएको छ, यद्यपि सुरक्षा समस्या र पहुँचको अभावका कारण औपचारिक घोषणा हुन सकेको छैन ।