काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणसम्बन्धी निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावप्रति उनले औपचारिक असहमति राख्दै ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका हुन्।
बैठक स्रोतका अनुसार भट्टराईले टिकट वितरणमा स्पष्ट मापदण्ड नबनाइँदा अन्याय हुने खतरा रहेको उल्लेख गर्दै तीन आधार प्रस्तुत गरेका छन्। “टिकट वितरणमा मापदण्ड मिलेन, मापदण्ड नबनाउँदा अन्याय हुन्छ,” भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ। साथै, उनले आन्तरिक एकतालाई बेवास्ता गरिएको र त्यसले पार्टीलाई दीर्घकालीन रूपमा नोक्सान पुर्याउने चेतावनी दिएका छन्।
भट्टराईले पार्टीले सामना गरिरहेका बाह्य राजनीतिक चुनौतीलाई समेत पर्याप्त रूपमा ध्यान नदिइएको तर्क बैठकमा राखेका थिए। यसैबीच, बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको उम्मेदवार सूचीमा योगेश भट्टराईको नाम समावेश गरिएको छैन। भट्टका अनुसार भट्टराईले यसअघि चुनाव लड्दै आएको ताप्लेजुङ निर्वाचन क्षेत्रको उम्मेदवार अध्यक्ष ओलीले पछि टुंग्याउनेछन्।
पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई विचलित नहुन आग्रह गरेका छन्। “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,” उनले लेखेका छन्। साथै, “हाम्रो यात्रा लामो र गौरवपूर्ण छ,” भन्दै उनले पार्टी एकताको सन्देश दिएका छन्। एमालेभित्र टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टिले आगामी निर्वाचनको तयारीमा पार्टीभित्रको आन्तरिक बहस थप तीव्र हुने संकेत गरेको छ।