काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताए । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।
आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
देउवा पक्ष अदालत जाँदै
यसैबीच, नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले भने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो ।
देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार अदालत जाने निर्णय गरिएको जानकारी दिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिक पार्टीको मान्यता दिएपछि देउवा पक्ष आक्रोशित छ ।
अदालतसँगै देउवा पक्षीय भ्रातृ संगठनहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध आजै सडकमा विरोध प्रदर्शन गर्ने तयारीमा छन् । थापा नेतृत्वलाई आधिकारिकता दिएको भन्दै उनीहरुले निर्वाचन आयोगको निर्णय असंवैधानिक र अवैधानिक भएको बताएका छन् । आइतबार काठमाडौँको माइतीघरमण्डलामा प्रदर्शन गर्ने यो समूहको तयारी छ । त्यसका लागि बिहान १० बजे माइतीघर मण्डलामा उपस्थित हुन सबै भ्रातृ संस्थालाई आग्रह गरिएको छ ।