यी पाँचनाम भन्नाले यो अर्थ नलगाइयोस् कि यहाँ म सर्वाधिक एक्का भनिरहेको छु । यस्ता सयकडौँ ‘पाँच पाण्डव’ भेटिन सक्छन् । म त भेटिन्छन् नै भन्ने विश्वास राख्छु । महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा लेख्नुभएको छ– ‘यहाँ माक्र्स भारी बोकिरहेको छ । लेनिन कोदालो खनिरहेको छ’ जस्तो लुकेका प्रतिभाहरूको कुनै सीमा हुन्न । असिमित हुन्छ । अल्फाबेटका हिसाबले उहाँहरू पाँच नाम हुनुहुन्छ (१) दिनेश सत्याल (२) धु्रवलाल श्रेष्ठ (३) भरत दाहाल (४) भाइराजा पाण्डे )५) महेन्द्रजंग शाह ।
(१) दिनेश सत्याल (सौरभ) : १३औँ शताब्दीदेखि काठमाडौँबासी । गोरखापत्रको सम्पादक पद जागिर चलिरहेकै थियो । मुलुकका एकेडेमीले आयोजना गरेको बौद्धिक निबन्ध प्रतियोगितामा प्रथम भएर पुरस्कार थाप्न पहिलो पटक समुद्रपारी जानुपर्दा गणेशमान सिंहसँग आशीर्वाद लिन पुगेका अर्थात् निर्दलीयतासँग विद्रोह । गोरखापत्रको सम्पादकले गणेशमान सिंहसँग आशीर्वाद थाप्नु हल्ला मच्चिएर गुप्तचर सम्पादकहरूले हुल बाँधेर ‘लेखिरहेको स्तम्भ बन्द गरिदिए’ । प्रधान सम्पादक जाँचबुझबाट नियुक्ति हुन्थ्यो । दिग्दारिएर बीबीसीको नेपाल डेस्क लन्डन पुग्दा दुई वर्षपछि प्रतीभा देखेर स्थायी जागिरको प्रस्ताव गर्यो । ‘धत् ! यहाँ त म हराइहाल्छु नी’ ठानेर नेपाली पहिचानको गौरव बढाउन नेपाल फर्केर ‘गिरिजाको ग्रेकोटमा रगतको टाटो’ लेख्न थालेर कलम उठाएका एकनम्बरका बौद्धिक हस्तक्षेपमा स्थापित लेखक चिन्तक सेलिब्रेटी सबैलाई थाहै छ । उहाँलाई बुझ्न कम से कम वि.सं. २०२१ सालदेखि ०२८ सालसम्म राजा महेन्द्रले ५ कक्षासम्म अनिवार्य निःशुल्क शिक्षानीति लागू भए बखतको ५ कक्षासम्मको योग्यताचाहिँ हासिल गरेको हुनुपर्छ । नयाँ शिक्षा नीति लागू भए यताका बहुराष्ट्रिय कम्पनीका रोबोट भएका प्राडाहरूले भने सौरभलाई बुझ्न मुस्किल पर्छ ।
(२) डा.ध्रुवलाल श्रेष्ठ : विद्यार्थीकाल युवा अवस्थामा नेविसंघ, काँग्रेस (बीपी, गणेशमान, भट्टराई) संयुक्त राष्ट्रसंघमा वरिष्ठ कानुन विज्ञका रूपमा १५ वर्ष जागिर सेवा पुर्याएर एसिया अफ्रिकाका प्रायः सबै मुलुकहरूमा संविधान, कानुन, न्याय, विधिविधानमा गुजुल्टीएका गाँठाहरू फुकाल्न लामो अनुभव र विज्ञताका धनी । प्रखर वक्ता पनि । ‘सत्य र न्यायको खोजी’ नामक अभियान चलाएर जनता लुटेर देश बेच्ने भ्रष्टाचारी तस्कर माफियाका भरिया बनेका विदेशी दलाल धेरै दलिय नेतृत्वका हुर्मत उतार्न सफल । राष्ट्रपति रामचन्द्र पौडेलको किर्ते हस्ताक्षर मुद्दा अदालतमा पुर्याउनदेखि न्यायाधीश हुँदा पूर्व प्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले धरान सर्जुजलाधार क्षेत्रको जग्गा घोटालामा साथ दिएर अनुकुलको फैसला गरिदिएर अर्बौँ राष्ट्रिय सम्पत्तिमा दाँत गाडेको वरिष्ठ वकिल युवराज कोइरालाका अनुसार १० वर्ष बढी जेल सजाय हुनसक्ने बिगो अनुसारको जरिबानाको मुद्दा अदालत पुर्याउनेसम्म सयकडौँ भ्रष्टाचार, घोटाला, राष्ट्रिय सम्पत्ति लुटका दशौँ प्रमाणसहितका फाइलहरू डा. श्रेष्ठले दराजमा सुरक्षित गर्नुभएको छ । ‘पृथ्वीपथ’ सरकारको प्रतिक्षामा । यस कालखण्डका सबै कुशासन विरोधीहरूले ‘स्यालुट’ गर्नुपर्ने काम उहाँबाट भएको छ ।
(३) भरत दाहाल : खारिएर सुल्झिएको एक अत्यन्त देशभक्त जनताभक्त राजनीतिक कर्मी, गम्भीर अध्येता पनि दुनियाँभरिका सबै बौद्धिक राजनीतिक कर्मीका नालीवेली पर्गेल्न सक्ने योग्यता बनाउनु भएका । उहाँको राजनीतिक जीवन प्रचण्डसँग लागेर बन्दुक उठाएर प्रारम्भ भयो । पाँचवर्ष बढी बन्दुक बोकेर जंगलमा भौतारिने क्रममा बाबुराम प्रचण्डका ‘रअ’ कनेक्सन थाहा पाएर देश सिध्याउने जालमा पो बन्दुक बोकेको रहेछु भन्ने पश्चाताप भएर बन्दुक फालेर कलम समाउनुभयो । भण्डाफोर हुने डरले प्रचण्ड–बाबुरामबाट ‘ज्यान फतेह’ को उर्दी पनि जारी भएको थियो । माओवादीको त्यो दबदबामा ५ वर्ष बढी भूमिगत जस्तो पशुपतिनाथले जोगाइदिनुभयो भन्नुपर्यो । अहिले ‘त्रिमूल पार्टी’ दर्ता गरेर आम मतदातामा नवजागरण उठाउन भूत जस्तो रातोदिन लागिरहनुभएको छ । ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो– लास । लासको समयमै अन्त्येष्टी नहुँदा कुहुने, गन्हाउने, रोग फैलाउने चरणमा कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका छन् । अहिलेका दलहरू’ भन्ने तथ्यमा उहाँलाई कुनै भ्रम अन्योल छैन । दुर्गा प्रशाई, हर्क साम्पाङ, स्वागत नेपाल, जगमान गुरुङ, कुलमान घिसिङ जस्ता आदि इत्यादिलाई राजनीतिको ठिक बाटो देखाउन सक्ने ठान्दा हुन्छ । ‘पृथ्वीपथ’को व्याख्या र भाष्य निर्माणमा एक अत्यन्तै योग्य सहयोगी ।
(४) डा.भाइराजा पाण्डे : प्रतिभाले अक्सफोर्डमा ‘मानव अधिकार’मा पीएचडी गर्न पुग्नुभयो । सर्वोत्कृष्ट रिजल्ट ल्याएका कारण अक्सफोर्डमै पढाउन थाल्नुभयो । यो सूचना संयुक्त राष्ट्रसंघमा पुग्यो र बोलाएर सानदार जागिर दियो । संयुक्त राष्ट्रसंघअन्तर्गतका सम्पूर्ण मुलुकहरूका मानव अधिकार क्षेत्रको पालना र उलङ्घन मापन निरिक्षण गर्ने हाकिम । राम्रो तलब र सुविधा दिएर लगातार २० वर्ष सानदार जागिरकै भनौँ निष्पक्ष सन्यासीभाव राखेर जिम्मेवारी पाएका मुलुकहरूमा गोरुझैँ जोतिनुभयो । मानव अधिकार क्षेत्रमा काम भनेपछि त्यसमा राजनीति, अर्थनीति, कुटनीति, सामाजिक सम्झौता, गृहद्वन्द, राष्ट्रद्वन्द सबै शास्त्रमा पारङ्गत हुनु अनिवार्य हुन्छ । अर्थात् डा.पाण्डेले समस्या पहिचान र समाधान शास्त्रमा विशारद चाहिने अनुभवजन्य सर्वोत्कृष्ट विज्ञता राख्नुभएको छ । समस्या समाधानको पहिलो काम त्यसको जरा पहिचान हुनु भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ ।
(५) डा. महेन्द्रजंग शाह : पश्चिम नेपालका राज खानदान । नेपाली माटोमा रंगीएर शाहीसेनाको (गोर्खाली) पौरख जगेर्नाका लागि राष्ट्रभक्तिको प्रसस्त पसिना बगाउनुभएका (रिटायर कर्नेल) राजनीतिशास्त्रमा अन्तरराष्ट्रिय स्तरको पाठ्यक्रम (बौद्धिक सूत्रदेखि सुक्रान्त, अरस्तु, प्लेटो, हब्स, कान्ट, पुँजीवाद, माक्र्सवाद, गान्धीवाद, लेनिनवाद, माओवाद, हिटलर, स्टालिन, मुसोलिनी, चाउचेस्कु, इदिअमिनदेखि चारुमजुमदारसम्म आदि इत्यादि) पर्गेल्न अहोरात्र अध्ययनशील । तस्कर, माफिया, भरिया भएका विदेशी दलाल पार्टीहरू र तिनका नेतृत्वका एक एक कालाकर्तुत राष्ट्रघात, जनघात, घोटाला टुपीदेखि पैतालासम्म उतारीदिन योग्यता क्षमता हासिल गर्नुभएका । डा. शाह खासगरी भाद्र २३/२४ यताको जेन–जी विद्रोह विस्फोटबाट गर्भाधान भएको नवजागरण विजारोपण कालका सामाजिक संजालमा झुल्किनुभएको हो । अरूको हकमा भन्न सक्दिन, मेरा हकमा चाहिँ २३/२४ उता नोटिसमा हुनुहुन्न थियो । ‘पृथ्वीपथ’का धुरन्धर वकालतकर्ता सिपाही ।
यसरी मैले एक मिनट पनि ढिला नगरी एक ठाउँमा उभिएर संयुक्त रूपमा काम थालिहाल्नुस् भनेर सल्लाह दिएको माथि उल्लिखित महानुभावहरूमा एकजनाबाहेक अरू कसैसँग जम्का भेट भलाकुसारी भएको छैन । तर मलाई के विश्वास छ भने यस्ता महानुभावहरू एकठाउँमा संयुक्त रूपमा समस्याको मूल जरो, सबै नीतिको मूलनीति राजनीति भएकाले खासगरी राजनीतिक समस्याको मूलजरो पहिचान गरेर पहिलो काम त्यो जरा उखेल्नतिर लाग्ने हो भने नवजागरणले छिट्टै सहि बाटो पाउने छ । लि.क्वान.यू, महाथीर शैलीमा जापानले जस्तो विकासको पथमा आम जनतालाई साथमा लिएर इमान्दारीपूर्वक मात्र १० वर्ष हिँडियो भने समुन्नति र खुसहालीको सगरमाथा चुम्न थाल्न असम्भव छैन । राजा ज्ञानेन्द्रको सम्बोधनमा आएको ‘सुनको कचौरा थापेर भीख मागीरहेका छौँ’ शत प्रतिशत सत्य तथ्य हो । राजा ज्ञानेन्द्रको सम्बोधनमा आएको पछिल्लो सम्बोधन कि– ‘हिजो विकास भएन भन्ने चिन्ता थियो, आज देश नै नरहने हो कि भन्ने चिन्ता बढेको छ’ उत्तिकै सत्य तथ्य हो ।
महाभारतको कथामा ‘यक्षप्रश्न’को एउटा प्रशङ्ग आउँछ । ‘कुनैपनि देश कतिखेर समाप्त हुन्छ ?’ भन्ने यक्ष प्रश्नमा युधिष्ठिर उत्तर दिन्छन् ‘जब अराजकताले सीमा नाग्छ’ । हो आज हाम्रो नेपालमा त्यही भइरहेको छ । अराजकताले सीमा नागेको छ ।
भदौ २३/२४ (वि.सं. २०८२) गते मात्र ११ घण्टा (२३ गते चार घण्टा, २४ गते ७ घण्टा)को एक्सनमा ७६ जना भविष्यका कर्णधार नेपालआमाका सपूतको रगतको होली खेलेर ‘पाँचमिनेट ढिला भएको भए मारिने थिए’ भन्दै प्रधानमन्त्री हेलिकोप्टरबाट हेटौँडा पुगे । कार्यपालिका, विधानपालिका, न्यायपालिका अस्तीत्वका प्रतिक सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जन–आक्रोशको ज्वालामा भष्म भए । पाँचपटक प्रधानमन्त्री भएका जेठो र ठूलोपार्टी नेपाली काँग्रेसको दुईपटक सभापति भएका शेरबहादुर देउवा दम्पत्ति (परराष्ट्रमन्त्री आरजु देउवा) पिटिएर घर (दरवार) नोट जलेर बाल–बाल बाँचे । १७ हजार नेपालआमाका सपूतको आहुति र बलिदानको मूल्यमा तीनपटक प्रधानमन्त्री भएका प्रचण्डको पनि देउवाको जस्तै घर नोट खरानी भयो । सर्वहाराको नेता भनेको घरभित्र स्विमिङ पुल राखेर मोजमस्तीको हिरो भएको रहेछ भन्ने छर्लङ्ग भयो । ‘भारतीय दुतावासमा लुकेर ज्यान जोगाएँ’ भन्दै बौलाइरहेका भेटिएका छन् । किर्ते हस्ताक्षरको मुद्दा खेपिरहेका राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन जलेर भागेर सेनाको संरक्षणमा पुगेर ४८ मिनेट शौचालयमा थुनिएर विदेश गुहारेर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति दिए । खासगरी २४ गतेको विध्वंस नरसम्हार राष्ट्रपतिले सेनाको हात बाँधिदिएर भन्ने सैनिक जर्नेलहरूले नै खुलासा गरिसकेका छन् । यस तथ्यले त रगतको होली खेल्ने अपराधीमा रमेश लेखक र खड्ग ओलीको भन्दा उनको नाम अगाडि आउँछ ।
माथि उल्लिखित कुनै वाक्य र भाष्यमा एउटा पनि झुठो देखाउनुहोस् र भन्नुहोस् यस्तो अराजकतामा भासिएको नेपाललाई कसरी जोगाउन सकिन्छ ? नेपालआमा यस्तो घिटीघिटीमा रहनुभएको अवस्थामा पनि तपाईहरू जस्ता दिग्गज र बुद्धिमानीका आभुषणले सिंगारिनुभएका नेपालआमाका सपूतले यो भएन त्यो भएन भनेर मात्र ‘कफीगफको आत्मरतिमा स्खलित’ भएर मोजमस्ती ऐस आरामको दिनचर्यामा सीमित हुनु मेरा दृष्टिमा पापको अध्याय हुन जाला । पापको श्राप र धर्मको आशीर्वाद अनिवार्य भन्ने गीतावचन छ ।
त्यसैले म भन्छु, तपाईहरू पाँचजना एकठाउँमा भेटेर संयुक्त रूपमा काम थाली हाल्नुहोस् । जहाँ प्रश्न देशको उठ्छ निजी आग्रह पूर्वाग्रह तिलाञ्जली दिनुपर्छ । ‘सबै धर्मभन्दा ठूलो धर्म राष्ट्रधर्म’ भन्ने विवेकानन्दको कथन छ । पहिलो काम वर्तमान अराजकताको मूल जरो कहाँ छ ? त्यसको पहिचान गर्नुहोस् । सबै नीतिको मूलनीति राजनीति भएकाले त्यसले बाटो बिराएको प्रस्थानविन्दु खोज्नुहोस् । त्यो खोज्न विदेशतिर कुदेर ठिक पहिचान हुन सक्दैन । समस्याको मूल जरो नेपालमै खोज्दा मात्र भेटिन्छ । जस्तो उदाहरणको लागि ०७ साल फागुन ७ गतेलाई हामीले ‘प्रजातनत्र’ दिवस भन्यौँ, मान्यौँ । तर तथ्यमा त्यो ‘प्रजातन्त्र’ दिवस नभएर ‘भारततन्त्र’ दिवस थियो । त्यसको प्रमाण वि.सं. २००९ सालदेखि ०२७ सालसम्म पुरै १९ वर्ष नेपालका १५ पहाडी जिल्ला (चीनसँग सीमा)का १८ ठाउँमा भारतीय सैनिक क्याम्प गाडिएका थिए । यो भनेको सार्वभौमिकता बन्दक (जेल) थियो । यी प्रायोजित लुकाइएका ऐतिहासिक तथ्य प्राइमरी स्कुलका पाठ्यक्रमसम्म पुर्याउन सकियो भने मात्र स्वाभाविक गतिमा नवजागरण उठ्न थाल्छ । यति संकेत उहाँहरू (पाँचजना) जस्ता बुझक्कडलाई थप सल्लाह आवश्यक नपर्ला । दोश्रो काम बीपीका अनेक अक्षम्य भूल गल्ति (यथासमय यथास्थान अवस्य ल्याउँला) हुँदाहुँदै पनि उहाँको एउटा ठहर र अडान पाठ्यक्रममा ल्याउनै पर्छ । त्यो भनेको राजा महेन्द्रले आठ वर्ष जेल कोचेर आठ वर्ष निर्वासनमा भौतारिन बाध्य पारे । अर्कोतर्फ इन्दिरा गान्धीले लेन्डुपदोर्जे हुन तयार भए आजीवन प्रधानमन्त्री जगजीवनराममार्फत प्रस्ताव गरेकी ‘आत्मवृतान्त’मा स्वयं वर्णन ल्याउनु भएको छ । तर उहाँले नेपाल जोगिन ‘राजसंस्था र प्रजातन्त्र एकसिक्काका दुईपाटा’ आफ्नो ठहर र अडानमा अटल रहेर स्वर्गे हुनुभयो । बीपीबारे तथ्य पाठ्यक्रम निर्माण गर्न थाल्दा ‘पृथ्वीपथ’को बाटो छर्लङ्ग हुँदै जाने छ । ‘पृथ्वीपथ’मा पुगेपछि १० वर्षमा सिङ्गापुर र जापानसँग विकासपथमा प्रतिस्पर्धा हुनथाल्ने पक्का छ ।
अन्त्यमा पंक्तिकारको चिनारीका लागि उत्सुकता भए यसै स्तम्भ असार १ गते आइतबारदेखि नियमित हरेक आइतबारका आलेख गुगलमा सर्च गरे एकसरो उपलब्ध छ । अस्तु ।