काठमाडौं । पर्यटन र सार्वजनिक कूटनीतालाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा स्थापित गर्न जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा भएको ‘नेपाल प्रवद्र्धनका लागि साझेदारी’ विषयक कार्यशालामा सहभागीले नेपालको सशक्त ब्रान्डिङ गर्न पर्यटन कूटनीतिमा जोड दिएका हुन् ।
सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा परराष्ट्र सचिव अमृतबहादुर राईले पर्यटनलाई नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा मूर्त र प्रभावकारी अभिव्यक्ति भएको उल्लेख गरे । उनले विश्वसमक्ष नेपालको ब्रान्डिङका लागि आत्मविश्वासी, सुसंगत र प्रामाणिक ’स्टोरी–टेलिङ’ अपरिहार्य रहेको बताए । पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र समृद्धिमा ठोस योगदान पुर्याउने स्पष्ट पारेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनमा सार्वजनिक कूटनीतिको प्रभावकारिता उल्लेख गर्दै संस्थागत समन्वय र सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए । उनले सरकारी निकाय, कूटनीतिक मिसन, निजी क्षेत्र र नीति अनुसन्धान संस्थाबीच साझा उद्देश्यसहित अघि बढेमा नेपाललाई दीर्घकालीनरूपमा बलियो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए । परराष्ट्र मन्त्रालयका सहसचिव तथ शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्री लगायत कूटनीतिज्ञले विदेशस्थित नियोगहरुमा बोर्डसँगको समन्वयमा नेपाल प्रवद्र्धन गर्न प्रतिबद्धता जनाए ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम, जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले बोर्डले परराष्ट्र मन्त्रालय र नियोगसँग आवश्यक परामर्श गरी कार्यक्रमहरु तय गरिने जानकारी दिए । कार्यशालामा परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपाल प्रवद्र्धनसम्बन्धी विस्तृत प्रस्तुति गरेको थियो । बोर्डको तर्फबाट वरिष्ठ अधिकृत कविन्द्र भट्टले नेपालको ’पर्यटन फ्याक्ट–सिट’ प्रस्तुत गरेका थिए । जसमा नेपालमा पर्यटन आगमन, विदेश मुद्रा आर्जन, भावी रणनीतिलगायतका विषय समेटिएका थिए । प्रस्तुतिपछि सहभागी निकायबीच छलफलना नेपाललाई विश्व बजारमा लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा उभ्याउने प्राथमिक क्षेत्रहरू पहिचान गरिएको हो ।
कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ दृष्टिकोणमा जोड्दै एकीकृत प्रयासमार्फत नेपालको विश्वव्यापी छवि सुदृढ गर्ने साझा निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।