विराटनगर । कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सञ्चालन गरेको छ ।
शुुक्रबारदेखि सुरु भएर आइतबारसम्म तीन दिन चल्ने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसनले औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने जनाइएको छ । मिसनअन्तर्गत संगठनको प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गरी स्थानीय उद्योग, व्यवसाय, लगानीका अवसरहरू र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गर्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । उक्त टोलीमा संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा कोषाध्यक्ष पारस लुनियालगायतका उद्यमीको सहभागिता रहेको छ ।
व्यावसायिक मिशनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पुर्याउने विश्वास लिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनले निजी क्षेत्रको अग्रणी संस्थामा उद्योग संगठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा अघि बढाई व्यवसाय–व्यवसायबीच सम्बन्ध विस्तार, ज्ञान र विचार आदानप्रदान तथा आर्थिक एजेन्डामा साझा आवाज स्थापना गर्ने विश्वास जनाए । अध्यक्ष राठीले कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी पर्यटन वर्ष २०८२ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवर्द्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप मजबुत बनाउन पनि मिसनले सहयोग पुर्याउने बताए । मिसनले अन्तरजिल्ला व्यापारिक सञ्जाल र साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको प्रवर्द्धन, मेरो देश मेरै उत्पादन अभियानमार्फत स्वदेशी उत्पादनको बजार प्रवर्द्धन, बिटुबी प्लेटफर्ममार्फत व्यवसायलाई भर्चुअलरूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष राठीले जानकारी दिए ।