धरान (सुनसरी) । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताए ।
उनले भने, ‘म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।’
साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनले यहाँ कार्यरत रहँदा श्रमदान अभियान, सुशासन प्रवद्र्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
बालेनले पनि छोडे
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उनले आइतबारदेखि लागू हुनेगरी राजीनामा पेस गरेको प्रमुख शाहको सचिवालयले जनाएको छ ।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।