काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट कार्य सुरु गरेको छ । शुक्रबार नयाँ पालिका भवनको उद्घाटन गरिएको थियो । शुक्रबार नुवाकोट आएका पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत, बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत, पूर्व संघीय सांसद् विमला सुवेदी, पूर्व प्रदेश सांसद् बद्री मैनालीले भवनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
भवन उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङको शब्द रहेको ‘पानी ड्वाँचेको’ नामक काँठे लोकगितको विमोचन गर्नुका साथै दोहोरी प्रस्तुत गरिएको थियो । त्यस्तै विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीबाट नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो ।
गाउँपालिकाले पालिकाको लागि योगदान गर्ने विभिन्न व्यक्ति, खेलाडी र उत्कृष्ट रिजल्ट दिने विद्यालय र विषयगत शिक्षकलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, एमालेका युवा नेता बद्री मैनाली र नेपाली कम्युनिस्ट पार्टीका महिला नेतृ तथा पूर्व संघीय सान्सद विमला सुवेदीले नुवाकोटको विकासका लागि आ–आफ्नो पार्टीले गरेको दावी गरेका थिए ।
पूर्व अर्थमन्त्री डा. महतले नुवाकोटमा सबैभन्दा धेरै बजेट विगतका अर्थमन्त्री डा. रामशरण महतदेखि पछिल्लाने समय आफू अर्थमन्त्री हुँदा हालेको बजेटबाट पूर्वाधार विकास र ककनीको सडक निर्माण भइरहेको दाबी गरेका थिए । एमाले यूवा नेता तथा पूर्व प्रदेश सांसद् बद्री मैनालीले संघीय सरकारबाट विनियोजित भएको बजेटलाई आफूले गरेको भनेर एकपक्षीय रुपमा प्रचार गर्न खोजेकोमा पूर्व अर्थमन्त्री प्रति आपत्ति जनाएका थिए । मैनालीले आफु प्रदेश सांसद् हुँदा गरेको नुवाकोटको विकास अहिलेसम्म कसैले गर्न नसकेको बताए ।
त्यस्तै अर्का अतिथि नेपाली कम्युनिस्ट पार्टीका महिला नेतृ तथा पूर्व सांसद् विमला सुवेदीले ककनीको सडक बनाउन प्रचण्ड प्रधानमन्त्री हुँदा भएको काम भएकाले अरुले आफूले मात्र गरेको भनेर जस लिन नहुने बताए । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई दिएको निर्देशनअनुसार काम भएको सुवेदीको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेश महत, पन्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ, तादिका अध्यक्ष सन्तमान तामाङ, नेपाली कम्युनिस्ट पार्टी जिल्ला प्रमुख पुष्प लामिछाने, स्थानीय समाजसेवी अर्ण बहादुर प्याकुरेल लगायतले समेत सम्बोधन गरेका थिए ।
गाउँपालिकाले सूर्यगढीको सामुदायिक विद्यालयको शिक्षा क्षेत्र र नागरिकको सेवाको लागि गरेको योगदानको उच्च कदर गरी पत्रकार तथा सामाजिक अभियन्ता सुशान्त न्यौपानेलाई सो अवसरमा सम्मान पत्र प्रदान गरेको थियो । न्यौपानेले गत वर्ष सूर्यगढी गाउँपालिका वडा नं. ४ र ३ को २ विद्यालयमा न्यानो कपडा (ट्रयाकसुट सेट, टिर्सट) टोपी र स्टेशनरी सामग्री वितरण गरेका थिए भने यस वर्ष सूर्यगढी वडा नं. १ र २ का १० विद्यालयका ७०० भन्दा बढी विद्यार्थीलाई एकैपटक विद्यालय पोसाक ट्रयाक सुट सेट, टिर्सट, टोपी, स्वेटर, झोला र स्टेशनरी सामाग्री वितरण गरेका थिए । सो कार्य सुर्यगढी गाउँपालिकाको सबैभन्दा बढी विकट रहेको लच्याङका विद्यालयहरुमा गरिएको थियो ।