काठमाडौं । ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको बिक्री खुल्ला भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्धक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू माघ ४ गते देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट मिति २०८२/०९/१३ गते प्रति इकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ मध्ये बीज पुँजीबापत १५ प्रतिशत इकाइ, जसमध्ये १४ प्रतिशत अर्थात् दुई करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा एक प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्कासनमा ल्याउन लागिएको हो । उक्त फन्डको न्यूनतम सय इकाइका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम एक करोड ६० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाइ बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ । फन्डको इकाइमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त योजनाको इकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणलीमार्फत पनि आवेदन दिन सक्नेछन् ।