काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आव २०८१/०८२ सम्मको सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव पारित भएको छ । बोनस सेयर जारीपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार पाँच सय ३५ रुपैया हुने बताइएको छ ।
वित्तीय संस्थाको हाल कायम कुल पुँजी संरचनामा संस्थापक समूहको सेयर स्वामित्व ६४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ३५ दशमलव ४८ रहेकोमा संस्थापक समूहको सेयर स्वामित्व ५४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४५ दशमलव ४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको सेयर स्वामित्ववाट १० प्रतिशत सेयर सर्वसाधारण समूहको सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ ।
वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने÷प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरू पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।