नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डको मंगलबार बिहान बसेको बैठकले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको हो। पार्टीका अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट खड्ग फागोलाई उम्मेदवार बनाइएको छ।
यस्तै मोरङ–२ बाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले टिकट पाएका छन्। निर्वाचन क्षेत्र नम्बर–३ मा डा. सुनिल शर्मा दोहोरिएका छन् भने मोरङ–४ बाट हालै निर्वाचित कांग्रेस महामन्त्री गुरूराज घिमिरे उम्मेदवार बनेका छन्।मोरङ–५ मा फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ। यस्तै कांग्रेस नेता डा. शेखर कोइराला मोरङ–६ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
कांग्रेसले मोरङका सबै क्षेत्रमा उम्मेदवार टुंग्याएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र हुने संकेत देखिएको छ। पार्टीले अनुभवी र नयाँ नेतृत्वको संयोजनमार्फत मोरङमा बलियो प्रतिस्पर्धा गर्ने रणनीति लिएको नेताहरूले बताएका छन्।