काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग मिलेमतोमा फेवा ताल अतिक्रमणमा सहकार्य गर्दै आएका गण्डकी प्रदेशका डीआईजी दिनेश आचार्य काठमाडौं तानिएका छन् । उनलाई प्रहरी प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले सरुवा गरेको हो ।
उनको स्थान गण्डकी प्रदेश प्रहरी कार्यालयमा डीआईजी दिपेन्द्र घर्ती क्षेत्रीको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा थिए । डीआईजी आचार्यलाई प्रहरी प्रतिष्ठानमा सरुवा गरिएको छ ।
पोखराका मेयर धनराज आचार्यले आफूनिकट व्यक्तिहरूमार्फत फेवा ताल अतिक्रमण गर्दै आएका छन् । फेवातालबाट पाँच किलोमिटरभन्दा माथि स्थानीय जनताले आफ्नो लालपुर्जा भएको जमिनमा एक टिफर माटो राख्दा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ ।
पक्राउ परेकाहरूलाई वनको मुद्दा लगाउने कोसिस हुँदा वनका कर्मचारीले नापजाँच गर्दा उक्त जग्गा वनको नभई व्यक्तिको रहेको खुलेपछि स्थानीयलाई रिहा गरिएको थियो । यता फेवा तालकै ६५ मिटर मापदण्डभित्रका क्षेत्रमा भने क्याफे क्यालिफोर्नियालगायतका रिसोर्ट तयार भएका छन् ।
फेवाताल नै रक्ताम्य हुनेगरी अतिक्रमण हुँदा समेत प्रहरी र स्थानीय निकाय रमिते भएर बसेको थियो । डीआईजी आचार्य र मेयर आचार्यको मिलेमतोमा वडा नम्बर ३३ का स्थानियमाथि समेत ज्यादती भइरहेको छ ।
केही दिनअघि स्थानीय मोहन थापालाई खुकुरी प्रहार गर्ने मेयरनिकट वडाध्यक्ष रामचन्द्र अधिकारीलाई डीआईजी आचार्यकै निर्देशनमा साधारण तारेखमा छाडिएको थियो । त्यस्तै क्यासिनो माहाराजामा पुग्दा डीआईजी आचार्यलाई सम्मान नगरेको भन्दै एक बाउन्सरलाई अभद्र व्यवहारको झुटा मुद्दामा बैदामस्थित वडा प्रहरी कार्यालयमा हिरासतमा राखिएको थियो ।
डीआईजी सरुवा भएर आएको केही महिनामै गत साउनमा उनी डीआईजी पदको गरिमालाई समेत बिर्सिएर मानव बेचविखन मुद्दामा कारागार चलान भई रिहा भएका गुरुङ थरका एक व्यक्तिको जन्मदिनको केक काट्न दलबलसहित गोरखासम्म पुगेका थिए ।