काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नको लागि संघीय सरकारका दुई मन्त्रीले पदले एकै दिन राजीनामा दिएका छन् भने एक जना मन्त्रीले एक साता अगाडि नै राजीनामा दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्रीले सोमबार प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका हुन् । मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन् ।
‘वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु’, राजीनामा पत्रमा भनिएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर २ वाट उम्मेदवार बन्ने भएका छन् ।
खेलकुद मन्त्री गुप्ताले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि पदबाट राजीनामा दिएका हुन् । उनले ईमेलमार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । उम्मेदवारी दिने सिलसिलामा सिरहा पुगेका गुप्ताले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको बताएका छन् । साथै राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको पनि बताए । जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा उनी जेन–जी पुस्ताको प्रतिनिधित्व गरेर मन्त्री भएका थिए । गुप्ता पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पनि उम्मेदवार बन्नको लागी मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी हाल उज्याले नेपाल पार्टीबाट राजनितिमा सक्रिय छन् ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नको लागि राजीनामा दिनको मन्त्रीको संख्या तीन पुगेको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग नलिनेलाई मन्त्री बनाएको बताए पनि मन्त्रीहरूले धमाधम राजीनामा बुझाएर निर्वाचनमा होमिएका हुन् ।