काठमाडौं । निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नगरकोटमा अवस्थित होटलले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासनसम्बन्धी सम्झौतामा निगालो होटलका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । नगरकोटमा अवस्थित चारतारे निगालो होटलले जारी पुँजीको २५ प्रतिशतको अनुपातमा साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । परम्परागत हेरिटेज शैली र आधुनिक सुविधासहित सञ्चालन हुने होटलमा ६८ प्रिमियम कोठा, बैंक्वेट हल, रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिमलगायत सुविधा रहने छन् । झण्डै एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको होटल आगामी चार महिनाभित्रमा सञ्चालनमा आउने छ ।