दमौली (तनहुँ) । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा सोमबार सॉझ एक पैदलयात्रीको मृत्यु भएको छ । घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
हालसम्म नाम, थर र वतन नखुलेको अन्दाजी २५/३० वर्षीय पुरुष उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो । प्रहरीले बस चालक चितवन, इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने ३८ वर्षीय मनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।