राजनीतिक दलहरू आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय थियो । सो अवधिमा ३ हजार ४ सय ८४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यी उम्मेदवारमध्ये ३६ देखि ५० वर्षसम्मका १६ सय १० जना, २५ देखि ३५ वर्षसम्मका ५ सय ८३ जना र ५१ देखि ६५ उमेरका १ हजार ९० जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी ६५ देखि माथिका २०१ जनाले पनि उम्मेदवारी दिएका छन् ।
कुल ६८ राजनीतिक दलहरूबाट २२ सय ९७ जनाले उम्मेदवारी दिँदा ११ सय ८७ जना स्वतन्त्र रुपमा चुनाव लड्न लागेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउँदा नेकपा र रास्वपाले १६४ स्थानमा उम्मेदवार उठाएका छन् ।
अब निर्वाचन कार्यक्रमअनुसारका बाँकी काम क्रमशः हुनेछन् । मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने तालिका छ ।यसपटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्भने मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
उनका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०÷५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् । यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए । यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।
कांग्रेसबाट १६५ वटै उम्मेदवार
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो । कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिएका छैनन् ।
नेकपाबाट १४ क्षेत्रमा महिला उम्मेदवार
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन् । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा छन् ।
त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार छन् ।
मनाङबाहेक सबै क्षेत्रमा रास्वपाको उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए ।रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कुल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए । झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् ।