काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिइएको ऋणमध्ये २०८२ पुस मसान्तसम्मको ऋण भुक्तानी गरेको छ ।
निगमले सो अवधीको कुल ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ ४४ पैसा भुक्तानी गरेको प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए । दुई न्यारोबडी जहाजको किस्ता पूर्ण रूपमा र दुई वाइडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरिएको उनले बताए । उनका अनुसार निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण हिसाब मिलानको प्रक्रिया सुरु गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग दीर्घकालीन ऋण व्यवस्थापन तथा दायित्व स्पष्ट पार्न छलफल सुरु गरेको हो । दुवै कोषका शीर्ष अधिकारीहरूसँग ऋण रकमको वास्तविकता, ब्याज मिनाहा वा छुटका सम्भावना तथा भुक्तानी तालिका पुनःसमायोजनका विषयमा छलफल गरेको उनले बताए । निगमका अनुसार दुवै पक्षबीच ऋणको कुल रकममा तथ्यगत एकरूपता नदेखिएकाले अभिलेख मिलान गर्न छलफल अघि बढाइएको हो ।
निगमको न्यारोबडी विमान नियमित उडानमा फर्कियो
निगमको न्यारोबडी विमान इन्जिन मर्मत तथा जडान प्रक्रिया पूरा गरी नियमित उडान तालिकामा फर्किएको छ । लामो समयदेखि इजरायलस्थित इजरायल एयरोस्पेस इन्डस्ट्रिज (आईएआई) मा रहेको निगमको न्यारोबडी विमान सोमबार नियमित उडानमार्फत काठमाडौँ आइपुगेको हो । इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र आईएआईबीच मौजुदा सम्झौताका आधारमा वार्तामार्फत समझदारी कायम भएपछि इन्जिन जडान तथा आवश्यक प्राविधिक प्रक्रिया सम्पन्न भएको निगमले जनाएको छ । निगमका अनुसार उक्त विमान इजरायलको तेल अभाव हुँदै दोहा र बैंककमार्फत काठमाडौँ ल्याइएको थियो ।
निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र उच्च व्यवस्थापनको निरन्तर प्रयासका कारण लामो समयदेखि विवादमा रहेको इन्जिन मर्मत तथा भाडासम्बन्धी विषय टुंगिएको प्रवक्ता पुनले जानकारी दिए । समझदारीअनुसार १२ महिनाको इन्जिन भाडा र इन्जिन जडानबापतको खर्च मिनाहा हुनुका साथै क्षतिपूर्तिस्वरूप निगमले आफ्नै इन्जिन जडान गरी विमान काठमाडौँ ल्याउन सफल भएको उनले बताए । हाल निगमका चारवटै जहाजबाट नियमित उडान सञ्चालन भइरहेको छ ।
वाइडबडी इन्जिन मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र तयारी अन्तिम चरणमा
निगमले वाइडबडी जहाजको नियमित इन्जिन मर्मत (ओभरहोल) का लागि आवश्यक सेवा प्रदायक छनोट प्रक्रिया अघि बढाएको छ । वाइडबडी जहाजको इन्जिन ओभरहोल गर्नुपर्ने अवधि करिब एक वर्ष बाँकी रहँदा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत मर्मत सेवा प्रदायक छनोट गर्न सात सदस्यीय उपसमिति गठन गरिएको निगमले जनाएको छ । उक्त समितिले बोलपत्र तयारी तथा आह्वान प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेको र केही दिनभित्र सार्वजनिक सूचना जारी हुने तयारी भइरहेको निगमले जनाएको छ । निगमका अनुसार सार्वजनिक खरिद ऐन, नियमावली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रक्रिया अघि बढाइएको हो ।