काठमाडौं । होटल फरेस्ट इनको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले माघ ४ गतेबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट यसअघि कम्पनीले गत पुस २० गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा दुई लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार साधारण सेयरको बिक्री कार्य छिटोमा माघ आठ गते र ढिलोमा माघ १८ गते बन्द हुने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल रहेको छ ।