काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) को बिक्री कार्य सुरु गरेको छ । कम्पनीले यही माघ छ गते मंगलबारबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२ दशमाव ६५ प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । सोमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् नौ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका नौ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा भएको विवरण तथा विद्युत् उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू र आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
यसैगरी सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड २२ लाख रुपैयाँ बराबरको दुई लाख २२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । कम्पनीका अनुसार यो सेयर खरिद गर्नको लागि न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन भएको सेयरको बिक्री कार्य छिटोमा माघ २० गते र ढिलोमा फागुन आठ गते बन्द हुने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री खुल्ला गरेको शेयर भने छिटोमा माघ नौ गते र ढिलोमा माघ २० गते बन्द हुने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।