काठमाडौं । ईडीएफ जाम्बोरी नेपालले बहु–देशीय भर्ना दिवस २०२६ आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रम आगामी फेब्रुअरीमा न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौँ तलामा सञ्चालन हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक मेलाका रूपमा आयोजना हुने उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै स्थानमा उपस्थित रहने आयोजकले जनाएको छ । कार्यक्रमले विदेश अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई एकै स्थानमा विभिन्न देशका अध्ययन अवसरबारे जानकारी लिन अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रम विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको हो । सहभागीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी पाठ्यक्रम छनौट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा अध्ययनपश्चात् रोजगारीका अवसरबारे विस्तृत जानकारी लिन सक्नेछन् । आयोजकका अनुसार, बहु–देशीय भर्ना दिवसले विद्यार्थीहरूलाई वर्षभरि विभिन्न देशका छुट्टाछुट्टै शैक्षिक मेलामा सहभागी हुनुपर्ने झन्झटबाट मुक्त गर्दै एकै दिनमा विश्वविद्यालयको तुलना, अध्ययन खर्चको मूल्यांकन तथा भविष्यको पेसागत योजनाबारे निर्णय गर्न सहज बनाउनेछ ।