काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार चार सय ८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको हो । रौतहट जिल्ला क्षेत्र नं १ बाट नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध उजुरी परेको हो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएका हुन् । पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ ।
सुनसरी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध उजुरी दर्ता भएको छ । स्थानीय सत्य नारायण पण्डितले दिएको उजुरीमा थापाले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र सो रकम राफसाफ नगरेको दाबी गरिएको छ । थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर भवन निर्माण गरेको र विद्यालयको आर्थिक वर्ष २०८१/०८२को लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख एक सय ५० रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ । बक्यौता रकम नतिरेको सम्बन्धमा विद्यालय प्रशासनले सुनसरी जिल्ला अदालतमा मिति २०८२ पुस २४ गते मुद्दा दर्ता गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन छ ।
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध उजुरी परेको छ । सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्द गर्न उजुरी परेको हो । यस्तै भक्तपुर–२ बाट रास्वपा उम्मेदवार राजीव खत्री र सोही क्षेत्रबाटै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार भएकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ । रास्वपाका उम्मेदवार खत्रीविरुद्ध नेपाल स्काउटबाट लिएको पेस्की फछ्र्यौट नगरेको भन्दै उजुरी परेको हो । उनले स्काउटबाट ९५ हजार रुपैयाँ पेस्की लिएको तर फछर्यौट नगरेको उजुरीमा दाबी गरिएको छ । भक्तपुर– २ कै उम्मेदवार पाठकविरुद्ध भने नागरिकताको विवरण र मनोनयनपत्रको विवरण नमिलेको दाबीसहित उजुरी परेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बुधबार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भर्पाइ सम्बन्धित उजुरीकर्तालाई दिएको जनाइएको छ ।
निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सो को सूचना पाएको मानिने व्यवस्था छ । माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिनेछ । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने र माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको आयोगले जनाएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।