काठमाडौँ । नेपालले तेस्रो मुलुकसँग गर्दै आएको व्यापारमा घाटा बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा करिब आठ खर्ब रुपैयाँ पुगेको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुसमसान्त) सम्म व्यापारघाटा सात खर्ब ९७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
सरकारले आयात व्यापारमा निरुत्साहन नीतिलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजान नसक्दा व्यापार घाटा बढेको हो । सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि वर्तमान सरकारले आयात निरुत्साहन गरेको थियो । जसले गर्दा एक दर्जन बढी सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो जसको प्रभाव आयात व्यापारमा परेको थियो । हाल उक्त व्यवस्था हटाएसँगै व्यापार घाटा बढेको हो ।
विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा नौ खर्ब ३९ अर्ब दुई करोड रुपैयाँको वस्तु आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव १८ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासमा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ७६ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत र आयातको हिस्सा ८६ दशमलव ८६ प्रतिशत छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा समग्र वैदेशिक व्यापार बढेको छ ।
निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा निर्यात व्यापार खुम्चिन पुगेकाले व्यापारघाटाले निरन्तरता पाउँदै आएको छ । नेपालको सबैभन्दा बढी व्यापारघाटा सीमा जोडिएका दुई मुलुक चीन र भारतसँग छ । विभागका अनुसार नेपालले एक सय ४१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । जसमा एक सय १० भन्दा बढी मुलुकसँग व्यापारघाटा व्यहोर्दै आएको छ । चालू आवको दोस्रो त्रैमासमा कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब चार करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १७ दशमलव ३६ प्रतिशतले बढी हो ।
गत आवको दोस्रो त्रैमासमा नौ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको कुल वैदेशिक व्यापार रहेको थियो । उद्योगभन्दा ट्रेडिङ नीति, पारवाहन लागत, प्रविधिको कमी र तुलनात्मक लाभका वस्तु परिमार्जित नहुदाँ व्यापार बढ्न नसकेको जानकारहरू बताउँछन् । कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिँदा आयात उच्च भएको बताउँछन् व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमन रेग्मी बताउँछन् । उनले अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुँदा व्यापार घाटामा कमी आउन नसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाइ छ ।
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९ तयार गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्ययोजनाको उद्देश्य नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई कम गर्नु यस कार्ययोजनाको प्रमुख उद्देश्य रहेको थियो । यसको अतिरिक्त अन्य उद्देश्य तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नु, कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्नु, विभिन्न निकायहरूबीच प्रभावकारी समन्वय स्थापित गरी स्वदेशी तथा वैदेशिक लगानी र उत्पादन वृद्धि गर्नु र स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नुलगायतका विषयहरू समावेश गरिएको थियो ।
पेट्रोलियम पदार्थको आयात बढ्यो
कुल आयातमध्ये चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँको डिजेल, ५७ अर्ब ४३ करोड ६२ लाखको भटमास, ३३ अर्ब सात करोड २१ लाखको पेट्रोल र २७ अर्ब चार करोड २० लाखको खाना पकाउने ग्यास आयात भएको छ ।
२६ अर्ब ६५ करोडको फलामजन्य सामग्री, २३ अर्ब २९ करोडको मोबाइल र १८ अर्ब ८३ करोडको सुन आयात गरिएको छ । साथै, मोटरसाइकल, विद्युतीय गाडी, नट्स, भटमास लुब्रिकेन्ट, हवाई इन्धन र ल्यापटप र नोट बुकहरूको आयात उच्च रहेको छ । आयात गरिने मुख्य सामग्रीहरूमा पेट्रोलियम पदार्थ, सवारीसाधान, फलाम, कच्चा सूर्यमुखी, भटमासलगायतका कृषि सामग्री तथा भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्री समेतको उच्च रहेको छ ।
सोयाबिन, कार्पेटलगायतका सामग्रीको निर्यातमा वृद्धि
सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टको निर्यातले मुलुकको निर्यात व्यापार बढाएको छ । चालू आवको दोस्रो त्रैमासमा ५६ अर्ब आठ करोडको सोयाबिन तेल, सात अर्ब १९ करोड ९५ लाखको अलैंची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमूखी तेल निर्यात भएको छ ।
साथै तीन अर्ब ४६ करोड चार लाखको जुटजन्य सामग्री, तीन अर्ब ११ करोड एक लाखको गलैंचा र दुई अर्ब ८० करोड ५३ लाखको र्यान निर्यात भएको छ । निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महत्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने कच्चापदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हुँदैन ।
निर्यात भएको वस्तुमध्ये दोस्रो नम्बरमा कार्पेट छ । पहिलो त्रैमासमा दुई अर्ब ५७ करोड ५४ लाख रुपैयाँको कार्पेट अमेरिका निर्यात भएको छ । भारतपछि नेपालको निर्यात व्यापारको गन्तव्य अमेरिका हो । तथ्यांकअनुसार पहिलो त्रैमासमा भारतमा ५९ अर्ब १२ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । दोस्रोमा अमेरिकामा चार अर्ब ८१ करोड ४३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
निर्यात भएको वस्तुमध्ये तेस्रो, चौथोमा क्रमशः सनफ्लावर र फेल्ट रहेको छ । तीन महिनामा दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँको सनफ्लावर र एक अर्ब ७३ करोड ९६ लाख रुपैयाँको फेल्ट निर्यात भएको छ । सनफ्लावर, फेल्टपश्चात् भने पाम तेल, अलैँची, जुटजन्य सामग्री र यार्नलगायतका वस्तु रहेको छ । उच्च निर्यात हुनेमा जुस, प्लाइउड, कुकुर र बिरालाको आहारलगायतका सामग्री समेत रहेको छ ।