काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्नेक्रममा कार्कीले उक्त निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप क्रियाशील भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए । साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाई कार्य गर्न तथा निर्वाचन प्रहरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न गर्नुपर्नेमा उनले विशेष जोड दिए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।