मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्द्धन गर्दै आयातित अलकत्राको प्रयोगलाई घटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित तथा आईपीटीएम नेपाल प्रालिको हजीकरणमा आयोजित कार्यक्रममा उनले दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य रहेको बताए । ‘अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्द्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण गर्नु हो’, उनले भने । उनले बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गर्ने समेत बताए । सिमेन्टको अधिकतम खपतका लागि पनि कालोपत्रे सडकको सट्टा कङ्क्रिट (ढलान) सडक निर्माणतर्फ जानुपर्ने उनको भनाइ थियो ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुले हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यकता रहेको बताए । कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कंक्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयता हुने उनको भनाइ छ । उनका अनुसार नेपालमा बर्सेनि ११ अर्ब रुपैयाँभन्दा बढीको विटुमिन आयात हुने गर्दछ । यसलाई प्रतिस्थापना गर्न स्वदेशी सिमेन्टमार्फत कंक्रिट सडक निर्माण आवश्यकता हुने जनाइएको छ ।
कार्यक्रममा कंक्रिट सडक प्रविधिको महत्व, डिजाइन अवधारणा, प्रकार, छनौटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यसबाट नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्ति लाभान्वित भएका जनाइएको छ । कार्यक्रममा इन्जिनियर अर्जुनजङ्ग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू उल्लेख गर्दै कंक्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पारे ।