काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम आधिकारिकरूपमा साुरुवात गरेको छ ।
शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौंमा गर्न लागिएको र निकट भविष्यमै देशव्यापी विस्तार गर्ने योजना रहेको छ । सीप सुधार कार्यक्रम लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीसियनहरूका लागि विशेष रूपमा तयार गरिएको हो । यस पहलमार्फत लिट्मसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित इलेक्ट्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । २० दिने तालिम कार्यक्रमले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा ध्यान केन्द्रित गर्नेछ । यसमा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् । इलेक्ट्रीसियनहरूको दक्षता बढाएर सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत् सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । तालिम सीटीईभीटिसँग आबद्ध बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले संरचित, उद्योग–सम्बन्धित र मापदण्डयुक्त प्राविधिक शिक्षा सुनिश्चित गर्नेछ ।
कार्यक्रमको औपचारिक सुरुवात लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील कुमार श्रेष्ठबीच भएको हस्ताक्षर समारोहमार्फत गरिएको हो । लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ताले यो पहल तालिम मात्र नभएर समाज र ग्राहकप्रतिको हाम्रो जिम्मेवारी भएको बताइन् । उनले कम्पनी सधैं आफ्ना ग्राहकसँग उभिएको र सधैँ उभिरहने उल्लेख गरिन् । उनका अनुसार शिक्षा र सीप विकासको यो कार्यक्रममार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत् स्थापनालाई प्रवर्द्धन गर्नेछ । काठमाडौंबाट सुरु गरिएको यो तालिम देशभर विस्तार भएको उनले बताइन् ।
लिट्मसको सीप सुधार कार्यक्रमले इलेक्ट्रीसियनहरूलाई सशक्त बनाउने, सुरक्षा मापदण्ड सुधार गर्ने र नेपालमा दक्ष प्राविधिक जनशक्ति विकासमा योगदान पुर्याउने जनाइएको छ ।