काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा प्रवाह हुने कर्जा खुम्चाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५६ खर्ब छ सय ६४ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये पाँच दशमलव ३६ प्रतिशतका दरले हुन आउने दुई खर्ब ७५ अर्ब ३६ करोड ७० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा दिएको देखिएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८१ प्रतिशत अर्थात् १४ अर्ब ४६ करोड ८० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जामध्ये छ दशमलव १७ प्रतिशतका दरले हुन आउने दुई दुई खर्ब ८९ अर्ब ८३ करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कुल ५० खर्ब ३५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये पाँच दशमलव २८ प्रतिशतका दरले हुन आउने दुई खर्ब ३९ अर्ब ५३ करोड ९० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव सात प्रतिशतले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा पाँच दशमलव ९८ प्रतिशतका दरले हुन आउने दुई खर्ब ४६ अर्ब ८७ करोड ६० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा पाँच खर्ब २४ अर्ब ४३ करोड १० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्येबाट छ दशमलव ११ प्रतिशतका दरले हुन आउने ३१ अर्ब ६५ करोड रुपैयाँबराबरको कर्जा विपन्न वर्गका प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६५ प्रतिशत अर्थात् पाँच अर्ब ८० करोड १० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ७६ प्रतिशतका दरले हुन आउने ३७ अर्ब ४५ करोड १० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा कुल एक खर्ब तीन अर्ब ७३ करोड ४० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । जसमध्ये पाँच दशमलव ३८ प्रतिशतका दरले हुन आउने चार अर्ब १७ करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ८१ प्रतिशत अर्थात् एक अर्ब ३३ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ११ प्र्रतिशतका दरले हुन आउने पाँच अर्ब ५० करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।