कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले बिहीबारदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी संगठनको विरोधका कारण उपकुलपति कार्यालयमा अवरोध हुन पुगेको थियो ।
साथै विश्वविद्यालयको दैनिक गतिविधि प्रभावित हुन थालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले गत साता व्यवस्थापन संकायका सहायक डीन प्राध्यापक डा. दिलीप पराजुलीको संयोजकत्वमा शुल्क पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदलमा अंग्रेजी केन्द्रीय विभागका प्रमुख ध्रुव कार्की र शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा सूर्यबहादुर थापासमेत छन् ।
कार्यदललाई तीन महिनाभित्र सबै अध्ययन संस्थान, आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा लिइने सबै प्रकारका शुल्कको अध्ययान गरी समयानुकूल बनाउन र एकरूपता हुनेगरी कार्यविधि सिफारिस गर्न कार्यादेश दिइएको डा पराजुलीले जानकारी दिए । विश्वविद्यालयमा नेपाली कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कार्यालय सञ्चालन अवरुद्ध हुने गरी उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्ति टाँसेपछि काम प्रभावित हुँदै आएको छ । अखिल (क्रान्तिकारीले) शुल्क वृद्धि फिर्ता लिनुपर्नेसहितका माग राख्दै विज्ञप्ति टाँसेको हो । यसैबीच, गतिरोध खुलाउन त्रिविले विद्यार्थी कल्याण महाशाखा प्रमुख दीपेन्द्र पराजुलीको संयोजनमा छलफल तथा परामर्श गरिरहेको छ ।