झापा । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य पर्ने ५३ हजार एक सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य पर्ने ३३ हजार सात सय ४४ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, छ महिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य पर्ने १२ हजार आठ सय ११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने चार हजार एक सय १२ किलोलिटर एटीएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य पर्ने नौ सय ६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्यांक छ ।