काठमाडौैं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी ६२ करोड ५० लाख रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेको छ । यसअघि कम्पनीको जारी तथा चुक्ता पुँजी ५० करोड रुपैयाँ मात्र रहेको थियो ।
यसैगरी विशेष सभाले संस्थापक र सर्वसाधरणको सेयर स्वामित्व ८०ः२० हुने गरी साविकको व्यवस्थामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सोमबार काठमाडौँको आनन्दभूमि इभेन्ट्समा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए ।
नेक्सजेनले लगानी कम्पनीको रूपमा निकट भविष्यमा सेयर सर्वसाधरणमा जारी गर्ने तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का आवश्यक सर्तहरू पूरा गर्ने प्रक्रियामा लागेको छ । कम्पनीले तीन वर्षभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको, तीन वर्ष लगातार खुद नाफामा रहेको र कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको दावी गर्दै, विशेष साधारण सभाबाट पुँजी वृद्धिको प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ ।
सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सर्वसाधरणलाई सेयर जारी गर्ने शिलशिलामा आवश्यक तयारी र निर्णयका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । सभामा एक सयभन्दा बढी सेयरधनीको उपस्थिति रहेको थियो । प्रबन्ध संचालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष देवेन्द्र प्रताप शाहले प्रतिवेदन पेश गरेका थिए । सेयरधनीहरूको जिज्ञासाको उत्तर सञ्चालक विजय बहादुर शाहले दिएका थिए । कार्यक्रमको समापनमा सञ्चालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गरेको कम्पनीले जानकारी दिएको छ ।