काठमाडौैं । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी सेयर सदस्य रहेको किसान बहुृउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरूले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । किसान सहकारीले आफ्ना सेयर सदस्यलाई छुट दिनेगरी नसर्ग हस्पिटलसँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुट उपलब्ध गराउने भएको हो ।
निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । निसर्ग हस्पिटल धनगढीस्थित निजी क्षेत्रबाट संचालित सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा दिइरहेको संस्था हो । २०५२ सालमा स्थापनामा भएको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारी सुदूरपश्चिमका नौवटा जिल्ला र बर्दियाको राजापुर न.पा.मा सेवा केन्द्र रहेको साथै ९३ हजारभन्दा बढी सेयर सदस्य रहेको सहकारी हो । सामाजिक सेवाअन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमा छुटको सम्झौता गरेका हुन् ।
किसान सहकारीका विभागिय प्रमुख दिपक ढुङ्गानाका अनुसार सेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशत, क्याविन भर्नामा १० प्रतिशत, आईसीयू बेडमा १२ दशमलव पाँच प्रतिशत, एनआईसीयू बेडमा १२ दशमलव पाँच प्रतिशत छुट बताए । त्यस्तै, जर्नरल, सर्जरी, अर्थाेपेडिक, गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी सेवामा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, ईसीजी ईसीएचओ, टीएमटी, ईन्डोस्कोपीमा १० र औषधि खरिदमा पाँच प्रतिशत छुट पाउने छन् ।
सहकारीले आफ्ना बिरामी सेयर सदस्यलाई उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको सेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा किसान सहकारीका महाप्रबन्धक शाहले सहकारीले सेयर सदस्यहरूलाई जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए । आगामी दिनमा सदस्यलाई अन्य सेवाहरूमा छुट दिनका लागि अन्य क्षेत्रका सेवाप्रदायकहरूसँग समेत सम्झौता गर्ने संस्थाको योजना रहेको छ ।
हाल संस्थाले किसान–कोप वित्तीय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी तीनवटा व्यवसायीक सेवाहरू सदस्यलाई दिँदै आएको छ । संस्थाको कुल कारोबार सात अर्ब २० करोडको रहेको छ ।