काठमाडौैं । ब्रिटिस काउन्सिलले नेपालमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरेको छ । जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालन गर्दै आएको ‘कल्चरल प्रोटेक्सन फन्ड’ले १० वर्ष पूरा गरेको अवसरमा सो कार्यशाला आयोजना गरिएको हो ।
द्वन्द्व, जलवायु परिवर्तन र सामाजिक–आर्थिक दबाबका कारण संकटमा परेका सम्पदाको संरक्षणमा केन्द्रित यो फन्ड नेपालसहित विश्वका १९ देशमा सक्रिय छ । ब्रिटिस काउन्सिलका अनुसार सन् २०१६मा सुरु भएको ‘कल्चरल प्रोटेक्सन फन्ड’ले समुदाय केन्द्रित पहलमार्फत सम्पदा संरक्षणलाई दीर्घकालीन र दिगो बनाउँदै आएको छ । नेपालमा भने सन् २०२२ देखि फन्डले आम नागरिकलाई इतिहास, पहिचान र आपसी सम्बन्धसँग जोड्ने सम्पदाको संरक्षण तथा समुदाय सशक्तीकरणका लागि सहयोग गर्दै आएको छ । फन्डमार्फत नेपालमा लोपोन्मुख कुसुन्डा भाषाको पुनर्जीवनमा सम्बन्धित समुदाय स्वयम् सक्रिय बनेका छन् । महिलाको नेतृत्वमा मैथिल कलालाई सृजनात्मकरूपमा पुनर्जीवन दिने काम भएको छ भने डोल्पामा हिमाली गुम्बाहरूको संरक्षणका लागि पहल अघि बढाइएको छ । त्यसैगरी गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन थालेका आदिवासी समुदायका खाद्य परम्परालाई दस्ताबेजीकरण गर्दै जर्गेना गर्ने प्रयास भइरहेको छ ।
नेपालबाहिर पनि फन्डले उल्लेखनीय काम गरेको छ । बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियमले संग्रहालयमा संकलित सामग्री र मौखिक परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि व्यावसायिक व्यक्तिलाई तालिम दिएको छ । पाकिस्तानमा इन्दुश डेल्टाको समुद्री सम्पदा, हजारा समुदायको शिल्पकला संरक्षण, स्वात उपत्यकामा बुद्धका मूर्तिको पुनस्र्थापना, ऐतिहासिक सिल्क रोडका संरचनाको मर्मत तथा कराँचीस्थित खालिक्दिना हललाई जीवन्त सांस्कृतिक केन्द्रका रूपमा पुनस्र्थापना गर्न सहयोग गरिएको छ । ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले नागरिकको तहमा लगानी गर्दै कल्चरल प्रोटेक्सन फन्डले सम्पदा संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धता उजागर गरेको बताए । यसले नेपालभर व्यवसायिक विकासका नयाँ अवसर सिर्जना गर्नुका साथै सम्पदा क्षेत्रमा क्रियाशील अभ्यासकर्ताको सीप अभिवृद्धि र सञ्जाल निर्माणमा सहयोग पुर्याएको उनको भनाई छ । १०औँ वर्ष प्रवेशको सन्दर्भमा सन् २०२६ जनवरी २०–२३ सम्म नेपालका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यावसायिक व्यक्तिलाई सहभागी गराई क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा सम्पदा आयोजना व्यवस्थापन, संस्थागत पूर्वतयारी, सञ्जाल निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी सहभागिताका विषयमा प्रशिक्षण दिइएको छ ।
समुदाय केन्द्रित यस्ता पहलहरूले पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । यसले समुदायलाई आफ्नो पहिचान र सांस्कृतिक सम्पदामा आधारित भविष्य निर्माणतर्फ अघि बढ्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ । कल्चरल प्रोटेक्सन फन्ड संयुक्त अधिराज्य (युके) सरकारले जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि अघि बढाएको अन्तर्राष्ट्रिय कार्यक्रम हो ।