काठमाडौैं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम आयोजना गरेको छ ।
कम्पनीले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँंको रोजाइमा अभियान’अन्तर्गत आफ्ना ड्राइभरलाई तालिम सञ्चालन गरेको हो । यस पहलमार्फत इनड्राइभले चालक सशक्तीकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । उक्त तालिम सत्र इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी आवश्यक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । यसले सुरक्षित, विश्वसनीय र यात्रुमैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । नियमित तथा गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकता दिँदै इनड्राइभले आफ्ना ड्राइभरहरू केवल आर्थिकरूपमा मात्र नभई आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौतीहरू सामना गर्न सक्षम बनेको जनाएको छ ।
यस पहलको एक प्रमुख विशेषता भनेको इनड्राइभले आफ्नो विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेलमाथि दिएको विशेष जोड हो । इनड्राइभले सुरक्षा वा सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी ड्राइभरहरूले आफ्ना यात्रामा नियन्त्रण कायम राख्न सक्ने एक दिगो र न्यायपूर्ण मोबिलिटी प्रणालीलाई निरन्तर प्रवद्र्धन गरिरहेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । यस क्रममा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्वमाथि जोड दिएका थिए । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको निरन्तर समर्पण, जिम्मेवारीबोध र व्यावसायिकतालाई उच्च सम्मान गर्दै आएको छ । ड्राइभर पार्टनर्स नै इनड्राइभ सेवाको मेरुदण्ड भएकाले उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरण कम्पनीको प्राथमिकतामा सधैँ रहने प्रतिबद्धता व्यक्त गरिएको छ । यात्रु र चालक दुवैका लागि पारदर्शी, निष्पक्ष र विश्वासयोग्य प्लेटफर्म निर्माण गर्दै, इनड्राइभले सुरक्षित यात्राको संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।