काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा स्वचालित मार्ग अर्थात् अटोमेटिक रुटबाट भित्रिने विदेशी लगानीको माथिल्लो सीमा खारेज हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा खारेज गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
योसँगै स्वचालित मार्गबाट आउने लगानीमा विद्यमान ५० करोडको माथिल्लो सीमा खारेज हुने भएको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिए । अटोमेटिक रुटमा अब यस्तो सीमा लाग्नेछैन । यद्यपि यसअघि नै सूचना प्रविधि क्षेत्रमा समेत सीमा लगाइएको थिएन ।
यसले स्वचालित मार्गबाट आउने विदेशी लगानी बढ्ने आकलन सरकारको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म अटोमेटिक रुटबाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोडको प्रतिबद्धता आएको छ । पुसमा मात्र २१ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।