केपटाउन, भदौ २४
दक्षिण अफ्रिकाको कुल गार्हस्थ्य उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले संकुचित भएको छ । दक्षिण अफ्रिकाको तथ्यांक मामिला अध्ययन गर्ने सरकारी निकायले मंगलबार सार्वजनिक तथ्यांकमा उक्त कुरा जनाइएको हो ।
‘दक्षिण अफ्रिकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले संकुचित भएको छ’, दक्षिण अफ्रिकी तथ्यांक विभागले भनेको छ । अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ ।