मलङ्गवा (सर्लाही) । मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएर दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिएका छन् ।
उनका अनुसार सङ्क्रमणको आशङ्का गरिएका २२ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । स्वास्थ्य कार्यालयले दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन मलङ्गवावासीसँग अनुरोध गरेको छ । माघ १२ गतेदेखि माघ १६ गतेसम्म दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा. झाले बताए । सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।