काठमाडौं । नेपालको वित्तीय क्षेत्र सुधारका लागि लघुवित्तहरूलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । संस्थाको आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनिकरणमा लघुवित्तहरूको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वकार्यकारी निर्देशक एवम् अर्थविज्ञ डा. गुणाकर भट्टले वर्तमान समयमा लघुवित्त क्षेत्रमा देखिएका समस्याहरूको साझा प्रयास र पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिए । उनले लघुवित्त क्षेत्रमा समस्या मात्र नभई सम्भावना प्रचुर रहेको स्मरण गर्दै अर्थतन्त्र चलायमान बनाउने विषयमा लघुवित्तको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । भट्टले केही लघुवित्तमा समस्या आयो भन्दैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै समस्याग्रस्त भयो भन्न नमिल्ने भन्दै कतिपय सकारात्मक परिवर्तनमा योगदान गरिरहेका लघुवित्तको बारेमा पनि चर्चा परिचर्चा गर्नुपर्नेमा जोड दिए । समस्या जसरी समाधान पनि सँगसँगै हुने भन्दै भट्टले लघुवित्त क्षेत्रले सरकार, नियमक निकाय र सरोकारवालाहरूसँग आफ्ना कुराहरू सामूहिक रूपमा राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियमक निकायको नीति, विधि र परिमार्जित कानुनहरूका बारेमा लघुवित्त क्षेत्रका नेतृत्वहरूलाई जानकारी दिन यो कार्यक्रमको अयोजना गरिएको बताए । उनले पछिल्लो समय कानुनमा भएको बदलाबको बारेमा समग्र लघुवित्त क्षेत्रलाई जानकारी होस् भन्ने ध्येयका साथ देशभरका ३५ वटाभन्दा बढी लघुवित्त वित्तीय संस्थाका प्रमुखहरूलाई सहभागि बनाई दुई पक्षीय छलफल गरिएको बताए ।
प्रमुख कार्यकारी अधिकृत अधिकारीले सुधारको सुरुवात आफूबाट गर्नुपर्ने भन्दै सबैभन्दा पहिले संस्थागत सुशासनमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरे । यसैगरी कार्यक्रममा प्रस्तुत भएका दुईवटा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उपनिर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्रमा नियमकीय तवरबाट हुनुपर्ने व्यवस्थामा सहजिकरणका लागि आफूहरू तयार रहेको बताए । उनले लघुवित्त क्षेत्र आफैमा नराम्रो नभई केही गलत व्याक्तीका कारण यस क्षेत्र समस्यामा परेको उनको धारणा थियो । पोख्रेलले लघुवित्त क्षेत्रमा गर्नुपर्ने सुधारका लागि कानुन सम्बत् रूपमा आफूहरूले कार्य गर्दैआएको भन्दै यस क्षेत्रलाई कस्तो बनाउने भन्ने विषयमा लघुवित्त क्षेत्र, सरोकारवाला र नियमक नियकाको सहकार्यमा टुङ्गोमा पुग्न सकिने बताए ।
यसैगरी कार्यक्रममा लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनका विषयमा नेरुडे मिर्मिरे लघुवित्त संस्थाका पूर्वप्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कार्य पत्र प्रस्तुत गरेका थिए । यसैगरी लघुवित्त क्षेत्रको वर्तमान समस्या निराकरणका उपाय र नियामकीय रणनीतिका विषयमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक विवेक कोइरालाले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्था, सन्दर्भ अवधारणा र प्रभाव विषयमा प्रस्ुतति राखेका थिए । सहभागी सबैलाई धन्यवाद दिँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिृकत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो गरी अनुसन्धानको आवश्यकता रहेको बताए । उनले सतही कुरामा विश्वस गरेर धारणा बनाउनेभन्दा पनि वास्तविकताको नजिक रहेर लघुवित्त क्षेत्रको बारेमा बहस गर्नुपर्नेमा जोड दिए । थापाले सकारात्मक कार्य गरेका लघुवित्तलाई प्रोत्साहन र खराब गरेकाहरूलाई सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरे । यसै सन्दर्भमा लघुवित्तहरूले महिलाहरूको आत्मसम्मान, आत्मविश्वास बनाउनका साथै आयआर्जनमा समेत ठूलो सहयोग गरिरहेको प्रतिक्रिया दिए । उनले विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउने कुरा र लघु उद्यम प्रवर्द्धनको क्षेत्रमा लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयमा केन्द्र, प्रदेश, स्थानीयतह र प्रारम्भिक संस्थाहरूसम्म पुगेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । लघुवित्तले अहिले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रका गरिब किसानहरूलाई आयआर्जनसँग जोड्ने कार्य गर्दै आएको छ ।