काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक सेवा केन्द्र बलाजु अटो वक्र्स प्रालिले महिन्द्रा सवारीसाधनधनीहरूका लागि वार्षिक सेवा अभियान ‘महिन्द्रा केयरफेस्ट २०८२ः सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ अभियान सुरु गरेको छ ।
यो वार्षिक सेवा क्याम्प शुक्रबारदेखि सुरु भएको र माघ १४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस केयरफेस्ट अभियान नेपालभरका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा एकैसाथ आयोजना गरिएको छ । केयरफेस्टको औपचारिक उद्घाटन शुक्रबार काठमाडौंको बलाजु औद्योगिक क्षेत्रमा अवस्थित अत्याधुनिक बलाजु अटो वक्र्स सेवा केन्द्रमा विशेष समारोहका बीच गरिएको थियो । कार्यक्रममा अग्नि ग्रुपकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अनुसन्धान तथा व्यवसाय विकास प्रमुख वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भारत तथा बंगलादेशका कन्ट्री हेड चैतन्य कागलकरलगायतको उपस्थिति थियो ।
महिन्द्रा केयरफेस्ट अवधिमा महिन्द्राबाट प्रमाणित दक्ष प्राविधिकहरूले वास्तविक (जेन्युइन) स्पेयर पाट्र्स तथा अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सवारीसाधनको सेवा प्रदान गर्नेछन् । सेवा लिन आउने ग्राहकहरूले निःशुल्क ४५ बुँदे जाँच, निःशुल्क सामान्य श्रम शुल्क, निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिस, कम्प्युटराइज्ड ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, जेन्युइन एक्सेसरिजमा ५० प्रतिशतसम्म छुट, एसी चार्जिङमा २० प्रतिशत छुट तथा जेन्युइन स्पेयर पाट्र्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।